18 September 2024  |   बुधबार, अशोज २, २०८१

बाँकेमा थप तीन संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टामा मंगलबार बाँकेका तीन जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

सोमबार दुई जना र मंगलबार एक जना गरि तीन जना संक्रमितको फरक फरक समयमा मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । मृत्यु हुनेहरुमा दुई पुरुष र एक महिला रहेको उनले बताए ।

फोकन पर्सन ओलीका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका, २ की ३५ वर्षीया महिला, सोही ठाउँकै ७७ वर्षीय पुरुष र खजुरा गाउँपालिका, २ का ३३ वर्षीय पुरुष रहेका छन् ।

कोहलपुरकी ३५ वर्षीया महिलाको मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि महिला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् ।

उनको उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको थियो । कोरोना पोजिटिभ भएको रिपोर्ट भने राती मात्र आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । त्यसैगरी सोही ठाउँकै ७७ वर्षीय पुरुषको समेत अस्पताल लिदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान कोहलपुर मेडिकल पु¥याइएका उनको कोरोना परीक्षणको लागि स्वाब लिएर घर लगिएको थियो । राती ९ बजे उनीमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि राती नै कोहलपुर मेडिकल कलेज ल्याउँदै गर्दा अस्पतालको गेटमा नै मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

मृतक पुरुष दिर्घरोगी थिए । खजुराका ३३ वर्षीय पुरुषको भने उपचारकै क्रममा मंगलबार दिउँसो भेरी अस्पतालको कोभिड वार्डमा मृत्यु भएको हो ।

सोमबार कोरोना पुष्टि भएका उनीलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो २ बजे अस्पतालमा भर्ना गरिएको थियो । उनको ४० मिनेटपछि उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

पछिल्लो केही दिनयता बाँकेमा सरदर दैनिक दुई जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ । बाँकेमा कोरोना संक्रमणका कारण मंगलबार साँझसम्म ६४ जनाको मृत्यु भइसकेको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८     9:10:35 AM  |