16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

जुनकिरी महिला समूहको आयोजनामा निःशुल्क एचआईभी जाँच

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८  

कोहलपुर  :
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा निःशुल्क एचआईभी जाँच गरिएको छ । जुनकिरी महिला समूह बाँकेले बैजापुरमा एक कार्यक्रमका बीच निःशुल्क एचआईभी परिक्षण गरेको हो । बैजापुरस्थित जनशक्ति माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क एचआईभी जाँच गरिएको हो ।

जुनकिरी महिला समूह राप्तीसोनारी क्षेत्रमा एचआईभीको अवस्थाको जानकारी प्राप्त गर्ने र जनचेतनाका लागि कार्यक्रमको आयोजना गरिएको हो । निःशुल्क जाँचमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । समूहका सामाजिक परिचालक यामबहादुर तामाङले आधा घण्टा आयोजना गरिएको उक्त कार्यक्रममा कुल २२ जनाले निःशुल्क जाँच गराएको जानकारी दिए ।

उनका अनुसार निःशुल्क जाँच गराउने मध्ये महिलाहरुको सहभागिता पुरुषहरुको भन्दा बढी थियो ।युवादेखि बृद्धसम्मले जाँच गराएको उनले जानकारी दिए । ‘समूहले बाँकेमा यस्ता विषयमा काम गर्दै आएको छ । बैजापुरमा स्थानीयहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भयो । पछिल्लो समयमा एचआईभीबारे मानिसमा जनचेतना बढ्दै गएको पाइएको छ ।’ उनले भने ।

संस्थाले जिल्लामा एचआईभी संक्रमितहरुलाई प्रोत्साहन, औषधोपचारमा सहयोग, नियमित औषधि खुवाउन निगरानी तथा जनचेतना प्रवाह गर्दै आएको छ । बाँके जिल्लामा स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार १२ सय जना एचआईभी संक्रमित छन् । जुनकिरी महिला समूह बाँकेले भने समूहको प्रत्यक्ष निगरानीमा ४ सय ५० जना भन्दा बढी रहेको जनाएको छ ।

तामाङले उनीहरुलाई दैनिक काउन्सिलिङ गर्ने, उनीहरुलाई सम्झाइबुझाई गर्नेदेखि घरमै पुगेर हेरचाह गर्ने गरिरहेको बताए ।पछिल्लो समय जनचेतनाको विकाससँगै एचआईभीबारे नागरिको सोच परिवर्तन हुदैँ गएको उनको भनाइ छ ।

उनी भन्छन्,‘एचआईभी आफैमा रोग होइन । यो एउटा लक्षण मात्र हो । एचआईभी पोजेटिभ देखिदैमा जीवनको अन्त्य हुदैन । त्यसको न्युनिकरणको लागि औषधि बनिसकेको छ । नियमित औषधि खाएमा स्वस्थ मानिस जस्तै बाँच्न सकिन्छ । ’

२०६५ सालमा स्थापना भएको जुनकिरी संस्थाले अहिले विभिन्न क्षेत्रका ३५ जना बालबालिकाहरुलाई सामाजिक सुरक्षा अनुदान भत्ता प्रदान गर्दै आएको छ । अहिले सम्म कर्णाली, सुदूरपश्चिम र र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा प्रवाह गरिरहेको समूहले जनाएको छ । यसैगरी समूहले आठ बेडको केयर होम समेत सञ्चालनमा ल्याएको छ

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८     10:20:33 AM  |