16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

वन्यजन्तु संरक्षणमा खटिने सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८  

बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणमा काम गर्ने दुई जना प्रधानसेनापति प्रशंसा निसानीबाट सम्मानित भएका छन् । चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य र निकुञ्जका रेञ्जर हर्षबहादुर सिंह सम्मानित भएका हुन् ।

दुवै जनालाई देवीदत्त गणका गणपति दिनेश कार्कीले सम्मान गरेका थिए । सेना दिवसका दिन प्रधानसेनापतिले काठमाण्डौमै सम्मान गर्ने कार्यक्रम रहे पनि कोरोना महामारीका कारण बर्दियामै कार्यक्रम गरेर सेनाले सम्मान गरेको जनाएको छ ।

आइतबार सम्मानित भएका आचार्यले नेतृत्व गरेको युवा परिचालन अभियानमा निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका २५ सय युवा सहभागी रहेका छन् । उनीहरूले स्वतः स्फुर्तरूपमा वन्यजन्तुको चोरी सिकार नियन्त्रणको काम गर्दै आएका छन् ।

युवाहरूको अभियानका कारण बर्दियामा गैँडाको चोरी सिकार शून्यमा रहेको छ । यो समूहले यसअघि राष्ट्रपति उत्कृष्ट युवा संरक्षण पुरस्कार पनि पाइसकेको छ । सम्मानित भएपछि अझै वन्यजन्तुको चोरी सिकार नियन्त्रणको लागि काम गर्ने हौसला बढेको सम्मानित भएका आचार्यले बताए ।

‘सेनाले दिएको सम्मानले अझै संरक्षणको क्षेत्रमा लाग्न प्रेरित गरेको छ’ उनले भने, ‘आगामी दिनमा अझै हामीहरु वन्यजन्तुको चोरी सिकार नियन्त्रणको लागि अग्रसर हुनेछौं ।’

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८     9:17:51 AM  |