18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुरमा लालपूर्जा वितरणको तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २८, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले बैशाख मसान्तदेखि लालपूर्जा वितरण गर्ने तयारी थालेको छ । शुक्रबार जग्गा नाप नक्सा सम्बन्धी सुभारम्भ कार्यक्रममा बोल्दै भूमि सम्बन्धि समस्या समाधान आयोग बाँकेकी अध्यक्ष शान्ती ढकालले बैशाख मसान्तसम्म लालपूर्जा वितरण गर्नेगरी तयारी थालिएको जानकारी दिइन् ।

‘कोहलपुरका अन्य वडाहरु भन्दा छिटो र छरितो रुपमा वडा नम्बर १ ले तिव्र रुपमा काम गरेको छ’ उनले भनिन्, ‘अन्य वडाहरुका अझै केही प्रक्रिया पुग्नुपर्ने छ ।

अब कोहलपुरका सबै वडाहरुमा पनि जेष्ठको मसान्तसम्म काम पुरा हुनेछ ।’ कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष गोपीलाल खनालले आफ्नो वडामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितहरुले लालपूर्जा प्राप्त गर्ने बताए ।

‘कोहलपुर नगरपालिकाले संकलन तथ्यांक अनुसार जग्गा नाप हुनेछ’ उनले भने, ‘सोही अनुसार सम्पूर्ण वडाबासीहरुलाई बैशाख मसान्तसम्म लालपूर्जा वितरण गर्नेछौं ।’

नगरपालिकाको वडा नम्बर १ देखि १५ नम्बर वडासम्म १६ हजार ५ सय ५८ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित रहेका छन् । कोहलपुर इकाइ प्रमुख विरबहादुर विकका अनुसार १ देखि ५ नम्बर वडामा कुल १ हजार ४ सय ४ जना भूमिहीन दलित सुकुम्बासी, अव्यवस्थित बसोबासी १५ हजार १ सय ५४ जना रहेका छन् ।

उनका अनुुसार कोहलपुर नगरपालिका वडा नम्बर १ मा भूमिहीन र सुकुम्बासी ३ सय १८, अव्यवस्थित बसोबासी १ हजार ४६ जना गरी जम्मा १ हजार ३ सय ६४ जना भूमिहीन सुकुम्बासी रहेका छन् । वडा नम्बर १ मा १ सय ५३ भूमिहीन दलित सुकुम्बासी छन् भने अव्यवस्थित बसोबासी २ हजार ९ सय ५६ जना रहेको उनको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २८, २०७७     7:55:24 AM  |