नेपालगञ्ज ।
भारतबाट भन्सार छली गरेर पेय पदार्थहरु ल्याउन रोक लगाइएको छ । भारतीय सीमावर्ती बजारमा पुगेका नेपालीहरुले पेय पदार्थ ल्याउने क्रम बढेपछि नेपालगञ्ज भन्सार कार्यालयले रोक लगाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतीय पेय पदार्थ बिक्रि वितरण गरेको पाइए समेत कारबाही गरिने जानकारी दिए ।
उनका अनुसार भारतबाट ल्याइएका विभिन्न पेय पदार्थ बिहीबार बजार अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो । अनुगमनका क्रममा भन्सार छली गरेर ल्याइएका भारतमा उत्पादित पेय पदार्थ नेपालगञ्जका विभिन्न पसलहरुबाट बरामद गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आजदेखि जिल्लाका पसलहरुमा अवैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएका छन् । ‘बिहीबार बरामद गरिएको भारतीय पेय पदार्थ नष्ट गरिएको छ’ उनले भने, ‘अब यहाँका पसलहरुमा अवैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’
भारतीय सीमावर्ती बजारबाट विभिन्न पेय पदार्थ ल्याउनेहरुलाई फिर्ता पठाउन थालिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा उत्पादित पेय पदार्थको तुलनामा भारतमा उत्पादित पेय पदार्थ कम मुल्यमा पाइने भएकाले भारतीय सीमावर्ती बजार पुग्नेहरुले उतैबाट पेय पदार्थ बोकेर आउने गरेका छन् ।
ईलाका प्रहरी कार्यालय जमुनाहाले बिहीबारदेखि पेय पदार्थ बोकेर आउनेलाई फिर्ता पठाउन थालेको छ । केही दिन अघिसम्म कोक, डिउ, फेन्टा लगायतका पेय पदार्थहरु ठूलो मात्रामा नेपालमा अवैध रुपमा भित्र्निे गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्