8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

मौसममा तत्काल सुधार नहुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १८, २०७७  

कोहलपुर ।

आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जल तथा मौसम विभागले जनाएको छ ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मनसुनपूर्वको मंगलबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले जनाएको छ ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।

आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।

मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

बाँकेसहित आसपासका जिल्लाहरुमा केही दिनयता बिहान र साँझपख तुवाँलो लाग्ने गरेको छ । देशका अन्य प्रमुख शहरहरुमा समेत प्रदूषणको मात्रा अधिक रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । बाँकेमा समेत प्रदूषणको मात्रा अधिक रहेकोले समयमै आवश्यक सर्तकता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

प्रकाशित मितिः बुधबार, चैत्र १८, २०७७     9:42:24 AM  |