शिवु खनाल । दाङ ।
सुख्खा र हावाहुरीको मौसम सुरु भएसँगै दाङको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । चुरे क्षेत्र र यहाँका सामुदायिक वनमा केहिदिनदेखि वनमा डढेलो लागेको स्थानीयहरूले बताएका छन् ।
चोरी, तस्करी र अतिक्रमले उदाङ्गो बनेको वन क्षेत्रमा लागिरहेको डढेलो निभाउन कुनै पनि निकायले चासो देखाएका छैनन् । विगत एक हप्तादेखि दाङको लमही–घोराही सडक अन्तरर्गत छेउछाउका सामुदायिक वनमा डढेलो लागिरहेको छ ।
डढेलो नियन्त्रण गर्न कुनै निकायको प्रयास नदेखिएको स्थानीय शेरसिङ् खड्काले बताए । ‘वनमा लागेको डढेलोको तातो रापले सडकमा सवारी साधनबाट आवतजातवतमा कठिनाइ हुन्छ’ उनले भने, ‘वनमा लागेको डढेलोको धुवाँले आँखा समस्या हुने गरेको छ ।’ आगलागीका कारण मानवको बाक्लो बसोबास रहेको चुरेका कैयौं बस्तीमा जोखिममा परेका छन् ।
बस्ति छेउमा आउन खोज्दा स्थानीयबासीले आफै निभाए पनि वन क्षेत्रमा फैलिएको आगो निभाउन कुनै निकायले चासो देखाएका छैनन् । वनमा लागेको डढेलोले साना तथा ठुला बिरुवा जलेर खरानी भएका छन् ।
यता डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले वन क्षेत्रमा यसरी बर्सेनि डढेलो लाग्ने भएकाले सामान्यजस्तो लागे पनि यसले वन्यजन्तु लोप हुनका साथै वातावरणमा समेत गम्भीर असर गरिरहेको बताए ।
‘वनमा आगो लागेपछि मानव बस्ती र किसानको खेतबारीमा पस्ने वन्यजन्तुको अहिले सिकार बढेको पाइएको छ’ उनले भने, ‘वनका कर्मचारी मात्रै लागेर यो मौसममा लाग्ने डढेलो नियन्त्रण गर्ने सम्भावना छैन ।’
वन क्षेत्रमा आगो लगाउदा घाँसपाताको पालुवा चाँडै पलाउने र वर्षायाममा जंगली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर गोठाला र स्थानीयले नै वनमा डढेलो लगाउने गरेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले बताए ।









प्रतिक्रिया दिनुहोस्