कोहलपुर
बाँकेमा चालु आर्थिक वर्षको श्रावण देखि फागुन मसान्तसम्म सवारी दुर्घटनमा परी ५० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेका अनुसार आठ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटनाका कारण ५० जनाको अकालमा मृत्यु भएको हो ।
चालु आ.व.को श्रावण महिनामा ६ वटा सवारी दुर्घटनामा परेका थिए । ती मध्ये दुई जना गम्भीर र ३ जना सामान्य घाइते भए । श्रावण महिनामा ६ जनाको मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीका अनुसार भाद्र महिनामा २० वटा सवारी दुर्घटनामा परेकोमा १४ जना गम्भीर र ११ जना सामान्य घाइते भएका थिए । भाद्र महिनामा ५ जनाको मृत्यु भएको थियो ।
दुर्घटना कै कारण ७ जनाको मृत्यु भएको असोज महिनामा जम्मा १९ वटा सवारी दुर्घटनामा परेको उनको भनाइ छ । उक्त महिनामा १ जना गम्भीर र १४ जना सामान्य घाइते भएका थिए ।
यस्तै कार्तिक महिनामा १२ वटा सवारी दुर्घटना भएकोमा ९ जनाको मृत्यु भयो भने दुर्घटनामा परी ४ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए ।
यसैगरी मंसिर महिनामा १५ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ५ जनाको मृत्यु भयो । ११ जना गम्भीर र ५ जना सामान्य घाइते भए । १० वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष महिनामा १० जना गम्भीर र १ जना सामान्य घाइते भएका थिए । माघ महिनामा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको थियो ।
उक्त महिनामा १३ वटा सवारी दुर्घटनामा परेकोमा ३ जना गम्भीर र १८ जना सामान्य घाइते भएको ट्राफिक प्रमुख भण्डारीले जानकारी दिएका हुन् । फागुन महिनामा १२ वटा सवारी दुर्घटना भएकोमा ९ जनाको मृत्यु भयो भने ८ जना गम्भीर र १९ जना सामान्य घाइते भए ।
ट्राफिक प्रमुख भण्डारी सवारी दुर्घटना न्युनिकरणका लागि कार्यालयले सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिइएको बताउँछन् । उनका अनुसार बाँकेमा सवारी दुर्घटनाको प्रमुख कारण चालकहरुको लापरबाही हो ।
यस्तै मानिसहरुले सुरक्षित रुपमा सडकमा यात्रा गर्न नजान्दा र ट्राफिक नियम पालना नगर्दा पनि दुर्घटना हुने गरेको छ । दुर्घटना न्युनिकरणको लागि दैनिक सचेतनाका साथै माइकिङ पनि गर्ने गरिएको उनले बताए । चालु आर्थिक वर्षमा मात्रै १ हजार ६ सय ३५ जना चालक तथा परिचालक र विद्यार्थीहरुलाई जनचेतनामुलक कार्यक्रम मार्फत सन्देश प्रवाह गरिएको उनको भनाइ छ ।