17 September 2024  |   मङ्लबार, अशोज १, २०८१

१८ लाख ठगी प्रकरणः आशिषका सहयोगी सुरज पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७  

नेपालगञ्ज ।

ठगीको आरोपमा पक्राउ परेका कथित सामाजिक अभियन्ता आशिष भनिने धर्मराज मल्ल ठकुरीका एक सहयोगी पक्राउ परेका छन् । प्रहरीमा नाम निकालिदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि बाँके प्रहरीले आशिषलाई फागुन २७ गते पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले पक्राउ परेका आशिषको बयानकै आधारमा एक जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा आशिषका मुख्य सहयोगी राप्तीसोनारी गाउँपालिका, ६ फत्तेपुरका सुरज मल्ल रहेका छन् । ३५ वर्षीय सुरजलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट पक्राउ गरेको थियो ।

‘आशिषकै बयानकै आधारमा हामीले थप जनालाई पक्राउ गरेका छौं’ डिएसपी खड्काले भने, ‘दुवै जनालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएका छौं ।’ आशिषले बयानको क्रममा प्रहरी समक्ष आफुले सुरजको निर्देशनमा काम गरेको बताएका छन् ।

‘बयानको क्रममा आशिषले सुरजकै नाम लिएकाले पक्राउ गरेका हौं’ उनले भने, ‘अदालतबाट हिरासतमा राख्नको लागि अनुमती लिइसकेका छौं ।’ प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्काले अहिलेसम्म १८ लाख बढी रकम ठगी गरेको भन्दै विभिन्न व्यक्तिबाट उजुरी परेको जानकारी दिए । विभिन्न सुरक्षा निकायमा भर्ना गरिदिने भन्दै आशिषले विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको भन्दै उजुरी परेको हो ।

सुरुमा नेपाल प्रहरीमा भर्ना गरिदिने भन्दै रकम ठगी गरेको उजुरी परेपनिे नेपाली सेनामा समेत भर्ना गरिदिने भन्दै अहिले ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

अहिले पनि पीडितहरुले उजुरी ल्याएर आउने क्रम जारी रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्काले जानकारी दिए । ‘अहिलेसम्म १७/१८ लाख ठगी गरेको भन्ने उजुरी परिसकेको छ’ उनले भने, ‘उजुरी आउने क्रम समेत जारी रहेकोले यो रकम बढ्नसक्छ ।’

सुरुमा सल्यानका भीमबहादुर घर्ती र तारा महताराले ६ लाख रुपैयाँ ठगी गरेको भन्दै बाँके प्रहरीमा उजुरी दिएपछि कथित सामाजिक अभियन्ता आशिष पक्राउ परेका थिए । आशिष पक्राउ परिसकेपछि भने अन्य व्यक्तिहरुले समेत उजुरी दिइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७     9:28:07 AM  |