18 September 2024  |   बुधबार, अशोज २, २०८१

खनाल-नेपाल समूहको भेलामा कुन नेताले के भने ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ५, २०७७  

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूहले दुई दिने राष्ट्रिय भेलाको पहिलो दिन बुधबार सहभागी नेता-कार्यकर्ता । तस्बिरः बिजु महर्जन/कान्तिपुर
ललितपुरको सानेपामा जारी भेलामा उपस्थित नेताहरुले अध्यक्ष ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए ।

भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आमनेता, कार्यकर्तालाई आह्वान गर्ने उनको भनाइ थियो । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरुको जोड रहेको पनि उनले बताए ।

नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । उनले नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको बताए ।

नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरुसहितको अर्को बैठक बोलाउनुपर्ने माग गरे ।

नेता समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । नेकपा (एमाले)लाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए । ओली गुटपरस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ थियो । अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरु पनि गल्ती सच्याउन तयार रहेको बताए ।

बुधबारदेखि सुरु राष्ट्रिय भेलामा देशभरबाट करिब ५ हजार नेता, कार्यकर्ता उपस्थिति रहेको दाबी खनाल-नेपाल समूहको छ ।#ekantipur.com

प्रकाशित मितिः बिहिबार, चैत्र ५, २०७७     4:31:36 PM  |