7 September 2024  |   शनिबार, भदौ २२, २०८१

मनाइयो विश्व मृगौला दिवस, तीन वर्षमा १५ सय बढीको डायलासिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा विश्व मृगौला दिवस मनाइएको छ । ‘सुखी जीवन स्वस्थ मृगौला, स्वस्थ्य मृगौला बनाएर बसौला’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मृगौला दिवस मनाइएको हो । बिहीबार नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक सुरेस कुमार कनोडियाले सो कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै कनोडियाले उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको बताए । उनका अनुसार हरेक व्यक्तिले सानो गल्तीका कारणले निकै दुःख पाइरहेका छन् । मृगौला रोग सम्बन्धी चेकजाँच गरी समयमा नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए । अब अर्को वर्षदेखि कोहलपुर मेडिकल कलेजमा मृगौला पत्यारोपण सेवा दिने समेत प्रतिबद्धता व्यक्त गरे ।

यस्तै डायलासिस विभागका इन्चार्ज डा. शिशिर कुमार रेग्मीले २०७५ सालदेखि अहिलेसम्म १ हजार ६ सय ३५ जनाले डायलासिस सेवा लिएको बताए । ‘नेपालको बुटवलदेखि पश्चिम क्षेत्र सम्पूर्ण डायलासिसका बिरामीहरु आउनुहुन्छ’ उनले भने, ‘कोरोनाको बेलामा पनि डायलासिस गर्ने कामहरु रोकेनौं ।’

कोरोनाको महामारी चलेको बेलामा बुटवलबाट रिफर गरेको थियो तर यहाँ हामीले भने डायलासिस गरेका थियौं । डायलासिस गर्ने भनेको पूर्ण रुपमा रोग निको हुने होइन तैपनि यसले केही समयसम्म भने निरुपन गर्ने उनको भनाइ थियो ।

यस्तै कार्यक्रममा डायलासिस गराइरहेका बिरामी विरेन्द्र कुमार गुप्ताले निकै सहज र सरल सेवा दिइरहेको बताए । ‘मैले यहाँ डायलासिस गराउन लागेको ढेड वर्ष भयो’ उनले भने, ‘कुनै त्यस्तो समस्या भएको छैन ।’

महामारीको बेलामा डायलासिस गर्ने नपाएर दुःखका साथ बस्नुपर्ने चिन्ता थियो तर भएन मलाई निकै खुसी लागेको उनको भनाइ थियो ।

उनका अनुसार यहाँ डायलासिस मात्र नभएर मृगौला प्रत्यारोपण गर्ने सेवा पाएको भए अझै निकै राम्रो हुने उनले सुझाव समेत दिएका थिए ।

साथै डायलासिस गराइरहेका बिरामीहरुलाई माक्स, स्यानिटाइजर लगायत वितरण गरिएको थियो । उक्त कार्यक्रम डा. देवेन्द्र आचार्या, डा. श्याम विक लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७     10:36:11 AM  |