रैथाने वनस्पति जोगाउँदै विद्यार्थी



कोहलपुर ।
आइबार बिहानको ११ बजेको थियो । अन्य विद्यालयका विद्यार्थीहरू स्कुलमा अध्ययन गरिरहेका बेला कोहलपुर–१२ मा रहेको सिर्जना सामुदायिक वनमा एक फरक दृश्य देखियो । सामुदायिक वनमा विद्यार्थीहरू कोही पानी बोकिरहेका थिए, कसैले बिरुवा गोडमेल गरिहेका थिए भने कोही विद्यार्थी बिरुवा स्याहारिरहेका थिए । शिक्षकहरू साथमा उनीहरूलाई सहयोग गर्दै थिए ।

करिब ४० जनाभन्दा बढी विद्यार्थी सहभागी रहेको यो दृश्य बालज्योति सेकेन्डरी विद्यालय कोहलपुरको हो । यो उनीहरूको मासिक कार्य हो । एक घन्टा समय छुट्ट्याएर प्रत्येक महिनाको अन्तिमतिर बिरुवा हेरचाह गर्न पुग्नु उनीहरूको नियमित काम बनेको छ । पछिल्लो समय लोप हँुदै गएका रैथाने वस्नपतिको संरक्षणमा बालज्योति विद्यालयका विद्यार्थीहरू जुटेका हुन् ।

जीन बैंकमार्फत विद्यार्थीहरूले जैविक विविधतासँगै अनुसन्धमा समेत जोड दिएका छन् । स्कुल पोसाकमा सजिएर हातहातमा कोदालो, हँसिया र पानीका बाल्टिनहरू बोकेर बिरुवालाई आफू जस्तै सजाउँदै थिए उनीहरू । एक अर्कासँग हाँस्दै रमाउँदै बिरुवाको गोडमेल गर्नुका साथै अध्ययन तथा अनुसन्धान गरिरहेका थिए । यसले एकातिर विद्यार्थीलाई प्रभावकारी सिकाइ हुने र अर्कातिर पर्यावरणमा टेवा पुग्ने उनीहरूको विश्वास छ ।

सधैँ कक्षा कोठामा बसेर पाठ्यपुस्तक अध्ययन गरिरहेका विद्यार्थीहरू खुला वनमा स्वतन्त्रपूर्वक खेल्दै सिक्दै गर्न पाउँदा खुसी लागेको विद्यार्थी प्रियन्का बोहाराले बताइन् । प्रत्यक्ष फिल्डमै आएर बिरुवाहरूको अध्ययन अनुसन्धान गर्दै बिरुवा हुर्काउँदा व्यावहारिक शिक्षामा निखारता ल्याउने जानकारी दिइन् ।

‘विद्यालयले जीन बैंक स्थापना गरेपछि हामीले विभिन्न रैथाने जातका बिरुवा रोप्यौँ, यसले गर्दा वातवरण पनि संरक्षित भएको छ र सबैलाई फाइदा पनि भएको छ,’ उनले भनिन्, ‘स्थानीय र रैथाने वनस्पति संरक्षण गर्नु अभिभावक, शिक्षक र विद्यार्थी सबैको जिम्मेवारी पनि हो ।’ रोपेका बिरुवाको बेलाबखत आएर गोडमेल गर्ने गरेको र यसले भविष्यमा फलदायी हुने बोहोराको विश्वास छ ।

उत्साहित हँुदै आफूले लगाएका बिरुवा शिक्षकलाई अवलोकन गर्न विद्यार्थीहरूले आग्रह गरिहेका थिए । शिक्षकहरू सँगसँगै बिरुवा रोप्दादेखि फल लाग्दासम्मको बारे जानकारी दिने र लिने गरिरहेका थिए ।  रैथाने बिरुवा के हुन् ? वनस्पतिको संरक्षण कसरी गर्ने ? कसरी रोप्ने ? यसका फाइदा के हुन् ? लगायतका बारेमा विद्यार्थीलाई सिकाउन बालज्योतिले फिल्ड जीन बैंकको स्थापना गरिएको प्रधानाध्यापक दामोदर पौडेलले बताए ।

एक बिरुवा एक विद्यार्थी हुर्काउने जिम्मा दिएको उनले मिसन टुडेलाई जानकारी दिए । त्यति मात्रै नभई पछिल्लो समय वनजंगल मासिँदै जाँदा जंगली जनावरले बालीनालीमा पु¥याउने नोक्सानीबाट बचाउन पनि यो अभियानले मद्दत पुग्ने पौडेलको भनाइ छ । रैथाने किटजन्य बस्तु लोप हुनु र वनस्पति मासिनुले किसानको बाली उत्पादनसमेत घट्दै आएको उनले बताए । सामुदायिक जीन बैंक सञ्जाल नेपाल र कृषि अनुसन्धान परिषद् नेपालको सहकार्यमा २०८० साउन २६ गते कोहलपुरमै पहिलो पटक जीन बैंक स्थापना गरेको उनले जानकारी दिए ।

रैथाने बाली र बिरुवाको संरक्षण, विद्यार्थीलाई बोटबिरुवाको स्थानीय तथा वैज्ञानिक नाम र उपयोगबारे जानकारी दिने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको उनको भनाइ छ । ‘लोपोन्मुख र रैथाने वनस्पतिको संरक्षणमा अघि बढौँ, स्वदेशी उत्पादन र मानव स्थास्थ्यको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ बालज्योति स्कुल फिल्ड जीन बैंक स्थापना र संरक्षणमा अघि बढेको उनले बताए । ‘यो एक वर्षको मात्रै कार्यक्रम होइन्, निरन्तर सञ्चालन गर्न सिर्जना सामुदायिक वनसँग सहकार्य गरेका छौँ,’ प्रधानाध्यापक पौडेलले भने, ‘एउटा विद्यार्थीले कम्तिमा एउटा बिरुवा लगाउने र आफैँ जोगाउने अभियान थालेका छौँ ।’

गत वर्ष पहिलो फेजमा ८० वटा वनस्पति रोपिएको उनले जानकारी दिए । अहिले प्रत्येक महिनाको अन्तिमतिर एक दिन गोडमेल गर्न र अनुसन्धान गर्न फिल्डमा विद्यार्थी ल्याउने गरेको जानकारी दिए ।पछिल्लो समय वन्यजन्तुहरू जस्तै बाँदरलाई खाने कुरा नहुँदा घरआँगनमै आउनबाट रोक्न जीन बैंक स्थापना गरी फलफूलका बिरुवा रोपेको विद्यालय संस्थापक लक्ष्मी सुबेदीले बताइन् । बालज्योति सेकेन्डरी स्कुलले विद्यार्थीहरूको चौतर्फी विकास गर्न फिल्डमै लगेर बिरुवाको संरक्षण र अनुसन्धान गर्न लगाएको उनले बताइन् ।

वन क्षेत्रलाई संरक्षण गर्दै बालज्योति स्कुलले लोपोन्मुख जडिबुटी र वनस्पति रोप्नु उदाहरणीय काम भएको सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले बताए । विद्यालयले फिल्डका लागि आग्रह गरेपछि फिल्ड उपलब्ध गराएको जानकारी दिए । विद्यार्थीहरूले लगाएका सबै बिरुवाहरू अहिले हराभरा बनाएको देख्दा फिल्ड उपलब्ध गराएकोप्रति गर्भ लागेको बताए ।

जीन बैंक संरक्षणमा विद्यालय
पछिल्लो समय कोहलपुरमा रहेका विद्यालयहरू जीन बैंक संरक्षणमा जुटेका छन् । नेपालमा रहेका विभिन्न ६ प्रकारका जीन बैंकहरूमध्ये अहिले कोहलपुरमा रहेका ग्रिनपिस मावि, गोरखा युनाइटेड पब्लिक स्कुल र बालज्योति स्कुलले विद्यालयमा फिल्ड जीन बंैकको स्थापना गरी जीनको संरक्षणमा जुटेका हुन् ।

जसमा बालज्योति स्कुलले जीन बैंक रैथाने वनस्पतिको संरक्षण तथा प्रवद्र्धन गर्दै आएको छ । लोपोन्मुख वनस्पतिको संरक्षणले वातावरण र जैविक विविधातालाई टेवा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएको हो । त्यस्तै, गोरखा युनाइटेड पब्लिक स्कुलले लोपोन्मुख प्रजातिका जीवजन्तु र किराको संरक्षण गर्ने उद्देश्यले किरा÷मौरी फिल्ड सामुदायिक जीन बैंकको स्थापना गरेको छ ।

जीन बैंकमा लोपोन्मुख प्रजातिका करिब ३० मौरीका घारमा ५ प्रजातिका मौरी र अन्य विभिन्न ५ प्रजातिका जीवजन्तु रहेकाले उनीहरूलगायत अन्य लोपोन्मुख प्रजातिका जीवजन्तुको संरक्षणमा जोड दिइएको छ । यसले विद्यार्थीहरूलाई किराहरूको महत्व र अनुसन्धान गर्न सहज भएको छ । त्यस्तै, नेपालकै पहिलो सामुदायिक जीन बैंक गाभर भ्यालीमा स्थापना गरिएको छ ।

विभिन्न प्रजातिका मौरी तथा सूक्ष्म किराहरूको संरक्षण गर्नुका साथै जैविक विविधताको समेत संरक्षण गर्ने उद्देश्यले यो स्थापना गरिएको हो ।
आधुनिकतासँगै प्राकृतिक बासस्थान नष्ट भएपछि विभिन्न प्रजातिका मौरीलगायत विविध सूक्ष्म किराहरू लोपोन्मुख अवस्थामा रहेका छन् । जीन बैंक अन्तर्गत वातावरणका लागि किरा संरक्षण गरेर थोरै भए पनि योगदान पुग्ने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति : २०८० फागुन २९ गते मंगलबार