कोहलपुर :
नेपाली समाजमा महिला हिंसाको एक कारण महिला नै भएको सरोकारवालाले बताएका छन् । पृतिसत्तात्मक नेपाली समाजमा पुरुषहरुबाट महिलाहरुले हिंसा भोगिरहेको भएपनि महिलाले महिला बाटै पनि हिंसा भोग्नु परेको उनीहरुले बताएका हुन् ।
महिलाले महिला माथि गर्ने हिंसा पनि नेपाली समाजमा व्याप्त रहेको उनीहरुको भनाइ छ । हिंसा अन्त्य गर्नको लागि पहिला घरमित्र महिलाहरु नै एकजुट हुनुपर्नेमा उनीहरुको जोड छ । सोमबार कोहलपुर नगरपालिकाको आयोजनामा आयोजित १११ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा मुल समारोहमा बोल्दै विभिन्न क्षेत्रका महिलाहरुले यस्तो बताएका हुन् । एकै घरभित्र सासु र बुहारीबीच हुने हिंसा, विभेद र असहयोग हट्नुपर्नेमा उनीहरुको जोड रहेको थियो । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी ‐नमूना)ले महिला आफूमा आइपर्ने हरेक जिम्मेवारी बहन गर्न तयार हुनुपर्ने बताइन् ।
उक्त समारोहकी प्रमुख अतिथि समेत रहेकी केसीका अनुसार महिलाले नेतृत्व विकास गर्नुपर्छ । महिला आफैमा आर्थिक रुपमा शसक्त हुनुपर्छ । उनले बलात्कार र हिंसाका घटना बढ्दै गएको भन्दै शसक्त रुपमा प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नेपालमा २०४६ पछि महिला अधिकारका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । उनले प्रत्येक क्षेत्रमा महिला शसक्त रुपमा अघि बढेको जानकारी दिए । स्थानीय स्तरमा समेत महिलाहरु हरेक क्षेत्रमा अब्बल रुपमा प्रस्तुत भएको उनले बताए । ‘महिलाहरुको सुरक्षा हुनुप¥यो ।उनीहरुको सम्मान हुनुप¥यो ।
हामी सबैले महिला अधिकारका लागि लड्नुपर्छ ।’ उनले भने । उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघकी नवनिर्वाचित वाणिज्य उपाध्यक्ष संगिता सुवेदीले हिंसाको अन्त्य घरबाटै हुनुपर्नेमा जोड दिएकी थिइन् । उनका अनुसार महिलाले अधिकार मागेर होइन खोसेर लिनुपर्छ । ‘प्रत्येक महिला सबैभन्दा पहिला आफैमा आत्मनिर्भर हुन जरुरी छ । महिला हक र अधिकारका लागि लड्नुपर्छ ।’ सुवेदीले भनिन्,‘विहानै उठ्दा हाम्रा छोरी चेली बलात्कृत भएका समाचार पढ्छौ ।
कुनै यस्तो दिन छैन कि हाम्रा छोरी चेली हिंसामा नपरेको होस् । हिंसाको अन्त्य आफ्नै घरबाट हुनुपर्छ ।’ यस्तै छोराछोरी बीचको विभेद अन्त्य हुन जरुरी रहेको उनका भनाइ थियो । समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले महिलाहरुको शसक्तिकारणमा दिवसको सन्दर्भमा विभिन्न प्रतियोगिता आयोजना गरिएको बताएकी थिइन् । उक्त अवसरमा कोहलपुर नगरपालिका क्षेत्रमा एक जना हिंसा पीडित र अटो रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएकी डिलमाया पुन र पवित्रा सुनालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
यस्तै महिलाको हक र हितका लागि काम गर्दै आएका दुई वटा महिला सहकारीहरुलाई प्रदेश सरकार र कोहलपुर नगरपालिकाले सम्मान गरेका हुन् । सम्मानित हुनेमा प्रतिभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र वैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् । यस्तै शनिबार सम्पन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचित दुई महिला पदाधिकारी र सदस्यहरुलाई नगरपालिकाले नारी दिवसको अवसरमा सम्मान गरेको थियो ।
यस्तै नारी दिवसको सन्दर्भमा भएका विभिन्न प्रतियोगितामा विजयी हुने महिलाहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । दिवसको अवसरमा औपचारिक समारोह शुरु हुनुभन्दा पहिला प्रभात फेरीको आयोजना गरिएको थियो । उक्त अवसरमा नगर बाल सञ्जालका बालबालिकाले सडक नाटक प्रस्तुत गरेका थिए ।