18 September 2024  |   बुधबार, अशोज २, २०८१

कोहलपुर उवासंघ निर्वाचनः लोकतान्त्रिक समूह विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले बाजी मारेको छ । आइतबार राती सम्पन्न मतगणना अनुसार अध्यक्षसहित अधिकांश पदमा लोकतान्त्रिक समूहका उम्मेदवारहरु विजयी भएका हुन् ।

सह–कोषाध्यक्ष र २ सदस्य पद बाहेक अन्य सबै पदमा लोकतान्त्रिक समूहका उम्मेदवारहरु विजयी भएको निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा लोकतान्त्रिक समूहका लक्ष्मणराज पौडेल ३१७ मतान्तरले विजयी भए ।

कुल खसेको ३०८० मतमा १६६१ मत ल्याउँदै उनी अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी साझा समावेशी व्यवसायी प्यानलका बिष्णु प्रसाद खनालले १३४४ मत प्राप्त गरेका थिए । संघको वरिष्ठ उपाध्यक्षमा समेत लोकतान्त्रिक समूहकै प्रदिप भट्टराई १९२२ मत ल्याउँदै विजयी भएको प्रमुख निर्वाचन आयुक्त लोक बहादुर शाहले जानकारी दिए ।

उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी साझा समावेशीका तेज प्रसाद अधिकारीलाई ८०५ मतले पराजित गरे । अधिकारीले १११७ मत प्राप्त गरेका थिए । उद्योग उपाध्यक्षमा समेत लोकतान्त्रिककै चण्डी प्रसाद गैरे १८२७ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी साझा समावेशीका कमल खड्काले १२१६ मत प्राप्त गरेका थिए ।

बाणिज्य उपाध्यक्षमा पनि लोकतान्त्रिक समूहकै संगिता सुवेदी विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनी १६२१ मत ल्याउँदै विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी साझा समावेशीका बलराम देवकोटाले १३९९ मत प्राप्त गरे ।

संघको महासचिव पदमा समेत लोकतान्त्रिककै मात्रिका सापकोटा १६०४ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी साझा समावेशीका नविन खड्का १४०४ मत ल्याउँदै पराजित भए ।

उप–महासचिवमा समेत लोकतान्त्रिक समूहकै दिपक बहादुर भण्डारी विजयी भएका छन् । उनी १७९२ मत ल्याउँदै विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी साझा समावेशीका पशुराम लामिछाने १२११ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा लोकतान्त्रिककै सीता कार्की १७३९ मत ल्याउँदै विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी साझा समावेशीका खेम प्रसाद घिमिरेले १२४८ मत प्राप्त गरेका थिए । सह–कोषाध्यक्ष पदमा भने ३ मतले साझा समावेशीका भुपेन्द्र प्रसाद काफ्ले विजयी भएका छन् ।

१५२४ मत ल्याउँदैं उनी विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समूहका भरत खत्री १५२१ मत ल्याएर पराजित भए । संघको दुई वटै महिला सदस्यहरुमा लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा पवित्रा ढकाल (१७११) र शर्मिला मल्ल (१५४५) विजयी भएका हुन् ।

खुल्ला सदस्यहरुमा अर्जुन प्रसाद सुवेदी (१३३८), राकेश विष्ट (१६८९), भुमिराज कँडेल (१४४७), तेज बहादुर अधिकारी (१४८५), हुम बहादुर रावत (१३७१), यज्ञ प्रसाद सुवेदी (१३७८), दिपक वली (१५८१), यादव राज बस्याल (१३७०), नविन कुमार शाही (१४५३) र कल्याण केसी (१४२८) विजयी भएको प्रमुख निर्वाचन आयुक्त शाहले जानकारी दिए ।

अर्जुन मात्रै साझा समावेशी प्यानलबाट विजयी भएका हुन् । अरु सबैजना लोकतान्त्रिक समूहकै रहेको बताइएको छ । शनिबार राती सम्पन्न भएको मतगणना अनुसार संघको एशोसिएट सदस्यमा लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका थिए ।

एशोसिएट सदस्यमा दिपनारायण श्रेष्ठ विजयी भएका हुन् । बस्तुगत सदस्यमा भने साझा समावेशी व्यवसायी प्यानलका टंक बस्याल विजयी भएको निर्वाचन समितिले जनाएको छ । संघको तीन वर्षीय नयाँ नेतृत्वको लागि साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेशी व्यवसायी समूह चूनावी मैदानमा उत्रिएका थिए ।

साझा समावेशीलाई नेकपाका दुवै समूह र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो भने लोकतान्त्रिक समूहलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । साझा समावेशीका खनाल संघको निर्वाचनमा अध्यक्ष पदमा दोस्रोपटक पराजित भएका हुन् । यसअघि उनी २०७४ साउनमा भएको निर्वाचनमा समेत चक्र बहादुर अधिकारीसँग अध्यक्ष पदमा पराजित भएका थिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७     10:57:26 AM  |