19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा सेना दिवसमा ‘रन फर फन’ कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

नेपालगञ्ज ।

नेपाली सेना दिवसको अवसरमा बाँकेमा दोस्रो नेचर कञ्जरभेषण (रन फर फन) कार्यक्रम हुने भएको छ । दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय शम्शेरगञ्जमा कार्यक्रम हुन गइरहेको हो । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाको आयोजना हुन गइरहेको ‘रन फर फन’ कार्यक्रम फाल्गुण २६ गते बिहान ७ बजे हुनेछ ।

आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाले बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले सेना दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्ज परिसर शम्शेरगञ्जमा दोस्रो नेचर कञ्जरभेषण (रन फर फन) को आयोजना गरिने बताए ।

‘सेना दिवसको अवसरमा विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा कार्यक्रमको आयोजना गर्न लागिएको हो’ उनले भने, ‘यसले नेपाली सेना र नागरिकको सम्बन्ध अझ प्रगाढ बनाउँदै संरक्षणमा समेत सहयोग पु¥याउन सक्छ ।’

यो कार्यक्रमले बाँके राष्ट्रिय निकुञ्जको प्रचार प्रसारमा समेत सहयोग पुग्ने आयोजक नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझाले अपेक्षा लिएको छ । ‘रन फर फन’ कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताहरु समेटिएको बाहिनीपति पाठकले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा २१ किलोमिटर हाफ म्याराथुन दौड (पुरुष), १० किलोमिटर खुल्ला दौड (महिला), ५ किलोमिटर खुल्ला दौड (महिला र पुरुष) र २५ किलोमिटर साईक्लिङ्ग (पुरुष) प्रतियोगिता हुनेछ ।

‘सबैको सल्लाह सुझावका आधारमा कार्यक्रममा हुने विधामा केही परिवर्तन हुनसक्छ’ बाहिनीपति पाठकले पत्रकार सम्मेलनमा भने, ‘हामीले आयोजना गर्न लागेको कार्यक्रममा नागरिक, सैनिक जो कोहीले पनि सहभागिता जनाउन सक्छन् ।’

दोस्रो नेचर कञ्जरभेषण (रन फर फन) कार्यक्रमको तयारी तिव्र पारिएको नेपाली सेनाले जनाएको छ । कार्यक्रममा सहभागिताको लागि नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा राँझा तथा मातहतका नेपाली सेनाका युनिटहरुमा समेत आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रतियोगितामा सहभागिता जनाउनको लागि कुनै शुल्क नलाग्ने बाहिनीपति पाठकले जानकारी दिए । प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाणपत्र दिइनेछ भने सहभागि सबैलाई प्रमाणपत्र दिइने उनले बताए ।

कार्यक्रमले सैनिक नागरिक सम्बन्ध सुमधुर गर्न मद्दत, राष्ट्रिय निकुञ्जको प्रबद्र्धन तथा पर्यटन विकासमा टेवा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा थप टेवा पुग्ने, मनोरञ्जन सहितको शारिरीक तन्दुरुस्ती र विभिन्न निकायहरु बीच सम्पर्क तथा समन्वयको अवसर हुने अपेक्षा नेपाली सेनाले लिएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     9:04:06 AM  |