सवारी दुर्घटनाले सास्ती, मंगलबार दिनभर राजमार्गमा तनाव



कृष्ण ओली । कोहलपुर ।

सोमबार साँझ पूर्व पश्चिम राजमार्गको ढकेरीमा एउटा टिप्परले दुई वटा मोटरसाइकललाई ठक्कर दियो । पश्चिमबाट पूर्व तर्फ गइरहेको ना ८ ख ५४५६ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेका दुई मोटरसाइकललाई किचेको थियो । तिव्र गतीमा रहेको टिप्परले किच्दा भे ८ प ३७९५ सवार राप्तीसोनारी गाउँपालिका, ८ बालापुरका ढकेन्द्र खड्काको ज्यान गयो ।

मोटरसाइकल चालक ढकेन्द्रका सदोहर दाजु मान बहादुर खड्का गम्भीर घाइते भए । सोही टिप्परले किच्दा भे ५ प ३७८९ नम्बरका मोटरसाइकल चालक कोहलपुर, ५ का सञ्जय चन्द समेत गम्भीर घाइते भएका थिए । यस्तै ढकेरी दुर्घटनाको १२ घण्टा नहुँदै कोहलपुर, ५ किरणनाल नजिकै मंगलबार बिहान सवा ६ बजेको समयमा माइक्रो बसको ठक्करबाट एक जनाको मृत्यु भयो भने अन्य २ जना गम्भीर घाइते भए । कोहलपुरबाट मदनचोक तर्फ गइरहेको भे १ ख २२३९ नम्बरको बसले विपरित दिशाबाट आइरहेका एउटा मोटरसाइकल र एउटा साइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट भे १ प ५०६१ नम्बरको मोटरसाइकलका चालक कोहलपुर, ३ का वीरेन्द्र शाहीको दुर्घटनास्थलमा नै मृत्यु भयो । साइकलमा सवार जाजरकोट घर भई बैजनाथ गाउँपालिका, २ बस्ने प्रदिप आचार्य गम्भीर घाइते भए । सोही दुर्घटनामा परेर कोहलपुर, ५ का पैदलयात्री प्रकाश महतरा समेत घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । लापरवाही तरिकाले सवारी चलाएर ज्यान लिने टिप्पर, माइक्रो बस र चालकहरु नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

यी दुई सवारी दुर्घटनाको बिषयलाई मंगलबार दिनभर मदनचोक देखि शम्शेरगञ्जसम्मको पूर्व पश्चिम राजमार्ग तनावग्रस्त बनेको थियो । किरणनाला भएको सडक दुर्घटनाका आफन्तहरुले चौराहादेखि मदनचोकसम्मका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । बिहान ९ बजेदेखि अवरुद्ध रहेको यो सडक खण्ड वार्ता बस्ने सहमती भएपछि साढे १२ बजेदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।

पीडित परिवार, बस धनी र बस समितिसँग प्रहरी कार्यालयमा वार्ता भएको कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजालले जानकारी दिए । ‘पीडित परिवारसँग न्याय, क्षतीपूर्ती लगायतका विषयमा सहमती भएको बुझिन आएको छ’ उनले भने, ‘बसका चालकले लापरवाही रुपले सवारी चलाउँदा एउटा युवाले अकालमा ज्यान गुमाउनुप¥यो ।’

तिव्र गतीमा रहेको माइक्रो बसले आफ्नो लेनमा रहेको मोटरसाइकल र साइकललाई त्यही ठक्कर दिएको थियो । बस चालकको लापरवाहीका कारण दुर्घटना भएको खुल्न आएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार बिहानैदेखि टिप्परले किच्दा ज्यान गुमाएका ढकेन्द्रका आफन्तहरुले शम्शेरगञ्ज नजिकै प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । बालापुर गाउँ जाने राजमार्गमा जम्मा भएका स्थानीयले बिहानै सडकमा टायर बाल्दै प्रदर्शनसहित चक्काजाम गरेका हुन् ।

स्थानीय सुजल खड्काले मृतकका परिवारलाई उचित क्षतीपूर्ती, घाइतेको उपचार दोषिलाई कारबाही लगायतका मागको लागि आन्दोलनमा उत्रिनुपरेको बताए । उनले टिप्परको आंतक समेत रोकिनुपर्ने माग रहेको जानकारी दिए । सहमति पश्चात साँझ साढे ७ बजे अवरुद्ध राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको वार्तामा सहमती जुटेपछि राजमार्ग सञ्चालनमा आएको हो । सवारी दुर्घटनाको बिषयलाई लिएर विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएपछि सुरक्षा निकायहरुलाई सुरक्षाकर्मीको व्यवस्था मिलाउन हम्मेहम्मे परेको थियो । मातहतमा कार्यालयबाट प्रहरी झिकाएर कुनै अप्रिय घटना हुन नदिन परिचालन गरिएको थियो । दिनभरको प्रदर्शनमा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १९ गते बुधबार