शिवु खनाल दाङ, ६ फागुन
स्थानीय मजदुरहरुलाई काम गरेको ज्याला नदिइ सिस्ने कन्ट्रकसन पुल निर्माण कम्पनीका ठेकेदार विरेन्द्र शाही भाग्न लागेको भन्दै दाङको गढवा गाउँपालिका वडा नम्बर ५ सोनपुरवा गाउँका स्थानियहरुले गुनासो पोखेका छन् । अजगढ़वादेखि सोनपुरवा गाउँ जोड्ने जनरेल खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भइसक्दा समेत स्थानीय मजदुरले ज्याला नपाएको भन्दै गुनासो गरेका हुन् ।‘गाउँमा पुल निर्माणको काम सम्पन्न भइसक्यो । दिन रात पुल निर्माणको काम खटियो तर, हाम्रो ज्याला नदिएर ठेकेदार भाग्न लागेको छ ।’ स्थानीय नगिना चौधरीले भनिन् । ‘हाजिरी लिएर पैसा माग्न पटकपटक गयौं तर, तिमीहरुलाई काममा लगाएको मान्छेले काम छोडेर गैसक्यो हामीले दिन सक्दैनौं भन्दै निर्माण कम्पनीले जवाफ दिन्छ ।’
२०७६ सालको जेष्ठ र असार महिनामा पुल निर्माणको काममा लागेका गाउँका अन्य २१ जना स्थानीय मजदुरलाई ठेकेदारले ठगेर भाग्न थालेको स्थानियहरुको भनाइ छ । पुल निर्माणको जिम्मा सिस्ने कन्ट्रक्सन कम्पनीले लियो । पुलको ठेक्का लिएको मुख्य निर्माण कम्पनीले बर्दियाका अनिल चौधरीलाई पेटी ठेक्का दिएर काम गरेको थियो । हामीले उसैसँग काम ग¥यौँ तर, त्यो मान्छे सम्पर्क विहीन भएपछि कम्पनीको मान्छेलाई बाँकि रकम दिन आग्रह गर्दा कम्पनिले दिन नसक्ने बताएको मजदुर नगिनाले चौधरीले बताइन् ।
पुल निर्माणको काममा लागेका सोनपुरवाका २१ जना महिला तथा पुरुष मजदुरले आफुले पसिना बगाएको पैसाँ जसरी पनि पाउनुपर्ने दाबी गरेका छन् । पुल निर्माणको कार्य शुरु भएदेखि काममा लागेका स्थानीयले झन्डै डेढ वर्ष पुग्दा समेत काम गरेको मजदुरी पाउन सकेका छैनन् । पुल निर्माणको काममा लागेका सोनपुरवाका मजदुर सावित्री चौधरीले सात दिनको ज्याला पाउन बाँकी रहेको बताइन् । उनले भनिन्,‘घर खर्च चलाउन सहज होला भनेर हामीले रात दिन काममा खटेयौँ । समयमा पैसा नपाउदा दुःख लागेको छ ।’
पुलमा ज्यामी काम गरेका सोही गाउँका स्थानीय गंगाराम यादव आफुले काम गरेको पारिश्रमिक नपाउदै दुर्घटनामा ज्यान गुमाई सकेका छन् । पुल निर्माणको काम सबै सम्पन्न भएको छ भने पुलको दायाँबायाँ तटबन्ध लगाउने काम पनि भैसकेको छ । अब पुलको बीच भागबाट तिस मिटर उत्तर र तिस मिटर दक्षिण तर्फ ग्रेवल हुने काम बाँकी छ । त्यो पनि शुरु भैसकेको छ । २०७६ साल चैत्रमा पूर्वाधार विकास मार्फत २ करोड नब्बे लाख बजेट बिनियोजन भएको थियो तर टेन्डर प्रक्रियामा जाँदा १ करोड ४८ लाख भ्याट सहितमा टेन्डर सदर भएपछि सिस्ने कन्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
कम्पनीले निर्माण कार्य सम्पन्न गरि सक्दा तिन जना पेटी ठेकेदार परिवर्तन भए । अहिले बाँकी रहेको काम कम्पनी आफैले गरिरहेको छ । उक्त पुल गतवर्ष नै निर्माण सम्पन्न हुनु पर्ने भएता पनि लकडाउन भएका कारण काम समयमा सम्पन्न हुन् नसकेको निर्माण कम्पनिका बिरेन्द्र शाहीले बताए । यता मजदुरहरुले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिनुभयो भने सम्बन्धित निकायमा जानकारी गराएर भुक्तानी रोक्न लगाइ मजदुरहरुको ज्याला उपलब्ध गराउने भुमिका निर्वाह गर्ने दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले बताए । सिस्ने कन्ट्रक्सन कम्पनीले दुई गाउँ जोड्ने पुल निर्माण गर्दा स्थानीयलाई बोलाएर स्थानीय मजदुरलाई रोजगारीका लागि पहिलो प्राथमिकता दिने मौखिक सहमति भएको थियो ।









प्रतिक्रिया दिनुहोस्