कोहलपुरका हाडवेयर व्यवसायी संगठित



कोहलपुर 

कोहलपुर नगरपालिकामा व्यवसाय गर्दै आएका हाडवेयर व्यवसायी संगठित भएका छन् । लामो समयदेखि कोहलपुर नगरपालिका क्षेत्रमा व्यवसाय गर्दै आएका हाडवेयर व्यवसायीहरुको हकहितका लागि संगठित भएका हुन् । शनिबार कुमार उप्रेतीको अगुवाईमा कोहलपुरका हाडवेयर व्यवसायीहरुको प्रथम भेला सम्पन्न भएको छ । भेलाले सिद्धबाबा हाडवेयर एण्ड सप्लायर्सका सञ्चालक समेत रहेका उपे्रतीकै अध्यक्षतामा १५ सदस्यीय कोहलपुर हाडवेयर व्यवसायी संघ गठन गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद कोइरालालाई चयन गरिएको हो ।उनी कोहलपुरका सबै भन्दा पुराना हाडवेयर व्यवसायी हुन् । उनी विगत २९ वर्षदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका छन् ।कोइरालाले गणेश ट्रेडर्स सञ्चालन गर्दै आएका छन् । संघको उपाध्यक्षमा डि.के. ट्रेडर्सका दीपक अर्याल, महासचिवमा धौलागिरी ट्रेडर्स प्रा.लि.का लोकबहादुर बुढा,सचिवमा रबिन बस्नेत र कोषाध्यक्षमा गणेश इन्टरप्राइजेज एण्ड स्टोर्सका चुमन बहादुर बुढाथोकीलाई चयन गरिएको हो । यस्तै सदस्यहरुमा श्रीधर धिमिररे, चन्द्र भण्डारी, रुपेश विष्ट, शोभाराम यादव, त्रिपुरा बुढाथोकी, रामु बहादुर थारु, अम्बिका आचार्य, प्रेम बहादुर रावल र संजय थारु रहेका छन् ।

उक्त अवसरमा बोल्दै अध्यक्ष कुमार उप्रेतीले कोहलपुर क्षेत्रमा रहेका हाडवेयर व्यवसायीहरुको हक र हितका लागि काम गर्न आफूहरु संगठित भएको बताए । उनका अनुसार यो संघ कुनै राजनीतिक विचार र सिद्धान्तमा आधारित हुने छैन । उनले आफूहरु पेसागत हितका साथै सामाजिक कार्यमा समेत सक्रिय हुने जानकारी दिए । उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले हाडवेयर व्यवसायीहरु संगठित हुनु सकारात्मक कुरा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले कोहलपुरका सम्पूर्ण व्यवसायीहरुको एकताका माध्यमबाट यहाँको आर्थिक विकासमा भूमिका खेल्नु पर्ने बताए ।अधिकारीले कुनै पनि संगठन बलियो हुनको लागि त्यसको नेतृत्व चलायमान हुनुपर्नेमा जोड दिए । उक्त अवसरमा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले कोहलपुर क्षेत्रमा व्यवसायीहरुको पक्षमा वकालन गर्नको लागि संघ गठन हुनु सकारात्मक रहेको भन्दै संस्थागत रुपमा आफ्नै सधै सहयोग र साथ रहने बताए । प्रथम भेलामा कोहलपुरमा हाडवेयर व्यवसाय गर्दै आएका व्यवसायीहरुको सहभागिता रहेको थियो । संघ गठनसँगै कानुनी प्रक्रिया लगायतका काम गरिने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २५ गते आइतबार