६ हजार तलबले पीडा मात्रै दिन्छ !



कोहलपुर ।

‘मेयर ज्यू,हाम्रा दुःख धेरै छन् । न्यून पारिश्रमिकमा काम गरिरहेका छौ । लामो समयदेखि ६ हजारमा काम गरिरहेका छौ । यस विषयमा ध्यान दिनुहोला।’ शुक्रबार कोहलपुर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा तारा चन्द आफ्ना दुःख सुनाउँदै थिइन् । उनी बालविकास केन्द्रकी शिक्षक हुन् । कोहलपुर–१३ सिम्रीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको बालविकास केन्द्रमा पढाउँछिन्,तारा । लामो समयदेखि बालविकास केन्द्रमा पढाउँदै आएकी उनले पहिलोपटक तालिम दिएको बताइन् ।

उनका अनुसार पहिलोपटक लिएको तालिमले केही हौसला दिएको छ । उनले आफूहरुले अहिले पनि न्यून पारिश्रमिकमा काम गर्नु परेको समेत गुनासो गरिन् । उनी भन्छन्,‘दुःख गरेर ६ हजार रुपैयाँ मात्रै पाउँछौ । त्यसले पुग्दैन । प्रमुख ज्यू, हेरिदिनुहोला ।’ शिक्षाको प्रराम्भिक बिन्दुको रुपमा रहेको बालविकास केन्द्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताइन् । हामी दिनभर दुःख गरिरहेका हुन्छौ। बालबालिकाहरुका दिशा र पिसाब सोहोर्नुपर्छ । तर हाम्रो माग पुरा भएको छैन । सरकारले हेर्दैन । स्थानीय सरकारले हेरोस् । कहिले काँहि आफूहरुलाई शिक्षक हौँ भन्नको लागि पनि हिनताबोध हुने गरेको उनले बताइन् ।

बाँकेका अन्य पालिकाहरुले बालविकास केन्द्रमा काम गर्नेहरुलाई राम्रो पारिश्रमिक उपलब्ध गराइरहेको भन्दै कोहलपुर नगरपालिकाले माग पुरा गर्नु पर्ने उनको भनाइ थियो । यस्तै नेपाल बालविकास शिक्षक समितिकी केन्द्रीय अध्यक्ष समेत रहेकी कृष्णाकुमारी थापा पनि यस्तै दुःख व्यक्त गर्छिन् । उनले भनिन्, हामीले लामो समयदेखि केन्द्रदेखि स्थानीय तहमा विरोध गर्दै आएका छौ ।हाम्रो माग भनेको हामीलाई उचित पारिश्रमिक उपलब्ध गराउनुपर्छ भन्ने हो । कोहलपुर नगरपालिकाले केही सहयोग गर्दै आएको छ । पहिलोपटक तालिम हुनु राम्रो कुरा हो ।तालिमले सबैलाई उर्जा दिएको छ । तर तलबले पीडा मात्रै दिन्छ ।

हाम्रो विषयमा सोचिदिनुहोला ।’राज्य तथा सरकारी विद्यालयका शिक्षकहरुले आफूहरुलाई हेप्ने गरेको उनको भनाइ थियो । राज्यको सौतेनी व्यवहारबाट बालविकास केन्द्रका शिक्षकहरु पीडित भएको उनको भनाइ रहेको छ । थापाले देशभरका ६ हजार भन्दा बढी शिक्षकहरु तलब कै लागि अहिले पनि आन्दोलनमा रहेको जानकारी दिइन् । उनले विद्यालय उमेर भन्दा अघिका बालबालिकाहरुलाई राम्रो विद्यार्थी रुपमा तयार गर्नको लागि निकै मेहेनतका लागि लागिपरेको बताइन् । पहिलोपटक कोहलपुर नगरपालिकाले तालिम दिएको भन्दै उनले आभार प्रकट गरिन् । यस्तै उनले आगामी दिनमा समेत यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिइन् । कोहलपुरमा अहिले ८१ जना बालविकास केन्द्रका शिक्षक छन् । कोहलपुर नगरपालिका अन्तर्गत शिक्षा शाखाले पहिलोपटक विभिन्न चरणमा गरी ६० जनालाई आधारभूत तालिम प्रदान गरेको हो । अझै २० जना बाँकी रहेकोले नगरपालिकाले उनीहरुलाई पनि तालिम उपलब्ध गराउन माग गरिन् ।

आधारभूत तालिम सम्पन्न

शुक्रबार विभिन्न चरणमा सम्पन्न भएको तालिम औपचारिक रुपमा समापन गरिएको छ । बालविकास केन्द्रका शिक्षकहरुले उक्त अवसरमा आफ्ना समस्याहरु दर्साएका थिए । सबै बालबालिका केन्द्रका शिक्षकहरुका समस्या सुनेका कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले उनीहरुलाई प्रोत्साहन हुने गरी घोषणा गरिदिए । उनले माघ महिनादेखि लागु हुनेगरी प्रतिव्यक्ति एक हजार रुपैयाँ प्रदान गरिने घोषणा गरेका थिए । यसअघि कोहलपुर नगरपालिकाले बालविकास केन्द्रका शिक्षकलाई प्रति महिना ५ सय रुपैयाँका दरले तलब उपलब्ध गराउँदै आएको थियो । उनीहरुको तलब ६ हजार मात्रै थियो ।

अब भने माघ महिनादेखि नै एक हजार रुपैयाँका दरले तलब बढ्ने भएको छ ।बालविकास शिक्षक समितिकी केन्द्रीय अध्यक्ष थापा नगरप्रमुखको घोषणा सकारात्मक भएको बताउँछिन् । उक्त अवसरमा बोल्दै प्रमुख रावतले शिक्षा आर्जनको पहिलो बिन्दु नै बालविकास केन्द्र रहेकोले राम्रोसँग शिक्षा दिन आग्रह गरे । यस्तै उनले कोहलपुर नगरपालिकाले शिक्षक दरबन्दी गरेर नमूना काम गरेको समेत दाबी गरे । तालिम समापनमा ६० जना शिक्षकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार