अव्यवस्थित गिट्टीका कारण दुर्घटनाको जोखिम



शुभाकर विश्वकर्मा, कोहलपुर 
जिल्लाको कोहलपुर नेपालगञ्ज सडक खण्डमा सडकमा जथाभावी छरिएको गिट्टीका कारण दुर्घटनाको जोखिम बढेको छ । लामो समयदेखी सडकमा बिछ्याउनको लागि छरिएका गिट्टीहरुको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम बढेको हो । सवारी आवागमनका हिसाबले अत्यन्तै व्यवस्त मानिने नेपालगञ्जको राँझा देखी कोहलपुरको न्युरोड क्षेत्र सम्म लामो समयदेखी अव्यवस्थित रुपमा बिछ्याउनको लागि मुख्य सडक क्षेत्र मै गिट्टीहरु छरिएका छन् ।
दैनिक साना तथा ठूला सवारीहरुको भीड हुने क्षेत्रमा सोही कारण दैनिक सानातिना दुर्घटना भइरहन्छन् । विशेषभरी दुई पांग्रे मोटरसाइकल, साइकल र अटो रिक्साहरुलाई विशेष आवातजावत गर्न समस्या हुने गरेको छ । यस्तै पैदल हिड्ने यात्रुहरुले समेत आफूलाई गिट्टीका कारण चोटपटक लाग्ने डर भएको गुनासो गरेका छन् । उक्त क्षेत्रका स्थानीयहरुका अनुसार त्यहाँ दैनिक जसो सानातिना दुर्घटना भएकै हुन्छन् । ती क्षेत्रमा मोटरसाइकल तथा अन्य दुई पांग्रे सवारी दुर्घटना भइरहेका हुन् । सम्बन्धित पक्षले उचित ध्यान नदिदाँ पैदलयात्रीका साथै साना सवारी साधन दुर्घटना भएर मानवीय क्षतिको समेत उच्च सम्भावना रहेको स्थानीयहरुको भनाइ छ ।
कोहलपुर वडा नम्बर ११ का स्थानीय बिशाल मल्लका अनुसार विगत दुई महिनाको अवधिमा उक्त क्षेत्रमा दर्जन बढी दुर्घटनाभइसकेका छन् । उनले अझै लामो समय सरोकारवाला पक्षले छिटो भन्दा छिटो व्यवस्थापन नगरेमा ठूलो मानवीय क्षति हुने समेत सम्भावना रहेको उनले बताए । उक्त सडक खण्डमा दैनिक दुर्घटना हुने, पैदल यात्री समेत लड्ने तथा गाडीका सिसाहरु फुट्ने समस्या रहेको स्थानीय मल्लको भनाइ छ । सडकमा भएको समस्या समाधानको लागि उनी कहिले स्थानीय सरकार, ठेगेदार र सडक डिभिजन कार्यालय धाइरहेका छन् । सडक क्षेत्रको समस्या समाधान कै लागि आफू वडा नम्बर ११ मा जाँदा वडा अध्यक्ष आफूहरुको जिम्मेवारीमा नरहेको भन्दै पन्छिएको बताए । त्यसपछि उनी न्याय माग्दै सडक डिभिजन कार्यालय बाँकेमा पुगे ।
त्यहाँ उनले २ महिनादेखी राँझा–कोहलपुर क्षेत्रमा जथाभावी बिछ्याइएका गिट्टी व्यवस्थापन नहुदाँ नागरिकलाई समस्या हुने गरेको सुनाए । जसरी पनि नागरिकको रक्षाको सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड थियो ।‘करिब दुई महिनायता सडकमा धेरै समस्या देखिएका छन् ।दैनिक दुर्घटना हुने गरेका छन् ।अहिले सम्म दर्जन बढी दुर्घटना भइसके । मानिसहरु पीडा लुकाएर गन्तव्यतिर जान बाध्य छन् ।’ उनले भने । त्यहि सडक क्षेत्रमा यहाँका जनप्रतिनिधिहरु दैनिक आवतजावत गर्नेगरेपनि उनीहरुको जिम्मेवारीपन नदेखिएको उनको भनाइ थियो । यस्तै उनले उक्त विषयमा डिभिजन सडक कार्यालय बाँकेमा गएर पनि ध्यानाकर्षण गराएका थिए । राँझा चोक देखी कोहलपुर सम्म ११ किलोमिटर सडक रिसिलिंङ( गिट्टी बिछ्याउने काम )को जिम्मा अमर नारायण जेभीले लिएको छ ।
यसको सम्झौता वि.स.२०७६ चैत्र ९ गत भएको थियो । यसको कुल लागत सात करोड २६ लाख ५९ हजार रहेको छ । सडक डिभिजन कार्यालय बाँकेले यसको निर्माण अवधि अझै एक महिना बाँकी रहेको बताए । निर्माण जिम्मा लिएको कम्पनीका जय बहादुर खत्री पनि अहिले चिनौ मौसमका कारण विगत दुई महिनायता काम रोकिएको बताउँछन् । उनका अनुसार माघको १५ गते देखी माघ लागेमा काम सुरु हुनेछ । आफूलहरुले जनतालाई असर गर्ने गरेर लापरबाही नगरेको भन्दै माघ लाग्न वित्तिकै काम हुने उनले बताए । यस सडक खण्डमा धेरै ठाउँमा अलकत्रा समेत उप्किएको छ । त्यसैले समस्या भएको हो ।
यता कार्यालयका इन्जिनियर लक्ष्मण केसी बिछ्याएको गिट्टी बिग्रेको, समय मै मर्मत हुन नसकेको गुनासो आएको बताउँछन् । उनले आफूले सम्बन्धित पक्षलाई तुरुन्तै सफा गर्न निर्देशन दिइसकेको बताए । उनका अनुसार कार्यालयको प्रति यस गम्भीर ध्यानाकर्षण भएको छ ।‘ कार्यालयमा गुनासो आएको छ । हामीले सम्बन्धित पक्षलाई निर्देशन दिइसकेका छौ । एक दुइ दिनमा सफा गर्ने कुरा भएको छ । माघ लाग्न वित्तिकै समस्या समाधान हुन्छ । ’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यसको अझै ५ किलोमिटर जति काम पुरा गर्न बाँकी छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मंगलबार