बर्दिया । मधुर पौडेल ।
बर्दियाको बाँसगढी नगरपालिकाले गत आर्थिक वर्षमा नगरमा लागू गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । बिहीबार बाँसगढी नगरपालिकामा निर्माण व्यवसायीसँग प्रगति विवरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै प्रगति विवरण सार्वजनिक गरिएको हो । उक्त आव २०७६÷०७७ मा लागू भएका बहुवर्षीय योजनाहरुको प्रगति विवरण सार्वजनिक गरिएको थियो ।
नगरपालिकामा भएका बहुवर्षीय योजनाहरुको बारेमा जानकारी तथा प्रगति विवरण प्रमुख शालिकराम अधिकारीले गरेका थिए । उनले नगरपालिकाको गौरवको आयोजना र बहुवर्षीय योजनाको रुपमा रहेको नगर चक्रपद निर्माणको कालोपत्रे गरेर ८५ प्रतिशत काम पूर्ण रुपमा सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार अहिले भने मौषम प्रतिकुलताका कारण उक्त काम रोकिएको छ । उनले पुल निर्माण तर्फ चार पुल बनेको पनि अवगत गराए । सबैमा कार्यप्रगति राम्रो छ ।
ती मध्ये एउटा पुल निर्माण कार्यमा गुणस्तरयुक्त काम नभएको भन्दै निर्माण जिम्मा लिएको शाही निर्माण सेवालाई स्पष्टिकरण सोध्ने उनले जानकारी दिए । यसैगरि सडक निर्माणतर्फ बाँसगढीमा चार महत्वपूर्ण सडक निर्माण कार्य भइरहेको छ । नगर प्रमुख अधिकारीले बाँसगढी–सटरिया–दमौली सडक, बासँगढी–खानेपानी चोक–बठुवा सडक–गौरीपारा बढैयाताल सीमाना सडक र हाउपुर– बढैयाताल सिमाना सडक बनिरहेको बताए । यस्तै सबै वडामा आधारभूत स्वास्थ्य केन्द पनि निर्माण भएका छन् । शिक्षा क्षेत्रको कार्यक्रम अन्तर्गत जनता मावि बठुवा र जनप्रीय मावि दमौली लगायतका विद्यालयमा आठ कोठे भवन निर्माण सम्पन्न भइसकेको छ ।
‘निर्माण व्यवसायी स्थानीय तहका साझेदार हुन् । यहाँको विकासमा उनीहरुको ठूलो भूमिका रहन्छ । नगरपालिका उनीहरुसँग सहकार्य तयार छ’ उनले भने । निर्माण व्यवसायीहरुले पनि आफ्नो मुनाफा मात्रै नहेरेर समयमै र गुणस्तरयुक्त काम गर्न उनले सुझाव दिए । कार्यक्रममा उप–प्रमुख शुस्मा थारुसहित, अन्य जनप्रतिनिधि, प्राविधिक, इन्जिनियर तथा निर्माण व्यवसायीहरुको सहभागिता रहेको इन्जिनियर बलराम पौडेलले मिसन टुडेलाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्