26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

क्यान्सर अस्पताल खजुरामा सर्जरी सेवा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७  

नेपालगञ्ज ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी (अप्रेशन) सेवा सुरु गरेको छ । एक कार्यक्रमका बीच अस्पतालले शुक्रबारबाट पहिलोपटक सर्जरी सेवा सुरु गरेको हो ।

बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित संघिय सांसद नन्दलाल रोकायले सर्जरी सेवा सञ्चालनको ब्यानर पढेर उद्घाटन गरे । उनले तत्कालीन सबै पार्टीका नेतृत्वको इच्छाशक्ति र जनताको सहयोगमा क्यान्सर अस्पताल निर्माण भएको बताएका थिए ।

‘स्थानीय जागेको खण्डमा धेरै कुराको विकास गर्न सम्भावना हुन्छ’ उनले अगाडि थपे, ‘विकासको एजेण्डामा सरकारले सहयोग गर्छ । जिल्लाका प्रमुख समस्या र विकासको लागि सबै सांसद र स्थानीय तहका प्रमुख एकठाउँमा आउनुपर्छ ।’ सांसद रोकायले राजनीतिक संस्कार बोकेर जानुपर्ने भन्दै व्यक्ति हित नभई सार्वजनिक हितमा काम गर्नुपर्ने दाबी गरे ।

क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्यक्ष सहभागिताबाट बनेको खजुरा गाउँपालिका प्रमुख तथा प्रखर परोपकार मिसनका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको आफ्नो स्वायत्त गठन आदेशमा संघीय सरकारमार्फत सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अप्रेशन सेवा सुरु भएको छ ।

अस्पतालको कार्य प्रारम्भ भएको पछिल्लो दुईमहिना पुग्दै गर्दा यस अस्पतालको प्रमुख भागका रुपमा रहेको अप्रेशन सेवा सञ्चालनमा आएको अस्पतालका निर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

हिस्टो प्याथोलोजि, स्त्री रोग, नाक, कान घाँटीको बिषेशज्ञ ल्याई दैनिक सेवा बिस्तारको योजनामा अस्पताल रहेको उनले बताएका छन् । सर्जरी सेवा शुभारम्भको अवसर पारेर अस्पतालले शरीरमा गाठागुठी भएका र मासु पलाएका बिरामीको निःशुल्क सर्जरी गरेको थियो । सो अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको निर्देशक आचार्यले जानकारी दिए । सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालका लागि बाँकेको खजुरा गाउँपालिका लगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले पनि सहयोग गरिहेको जनाइएको छ ।

२०७५ असार नौ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको सो क्यान्सर अस्पतालले अहिलेसम्म सात हजार बढी बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ ।

अस्पतालले हालका लागि वहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, किमोथेरापी, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७     9:50:24 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *