बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर



नेपालगन्ज ।

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ।

भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसीयुमा राखेर उपचार भईरहेको छ। भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको छ ।

उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए। बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् ।

जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए। रासस

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १३ गते बिहीबार