अंकल र भतिजको बाख्रा फार्म



दिनेश बुढा, सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनग देखि १२ किलोमिटर यात्रा गरेपछि पुगिन्छ दमारे गाउँ । बराहताल गाउँपालिका वडा नम्बर ८ मा पर्ने दमारे गाउँ पछिल्लो समय व्यवसायिक ठाउँमा रुपमा चिनिन थालेको छ । चादँनी कृषि तथा पशुपंक्षी फार्म त्यहाँको विशेष आकर्षणको केन्द्र हो । युवा व्यवसायी तथा समाजसेवी नरेन कठायत र अंकल अर्जुन कठायत फर्मका सञ्चालक हुन् ।

नाताले काका भतिज उनीहरुको फर्मलाई धेरै अंकल भतिज फर्म भनेर चिन्छन् । चारैतिर हरीयाली घना वनजंगल, फाटफुट घरहरु, फार्म नजिकै कर्णाली राजमार्ग, चिसो हावा पानीले प्रशस्त रहेको उक्त ठाउँमा एक महिनादेखि नरेन र अर्जुन लागिपरेका छन् । कोरोना कहर अझै बाँकी छ । चैत्र ११ गते सरकारले करिब चार महिना गरेको लकडाउनका कारण लाखौंको रोजगारी गुम्यो । यसबाट विशेषगरी निजी क्षेत्रमा काम गर्नेहरु बेरोजगार हुन पुगे । तर दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका नरेन कठायत र उनका अंकल अर्जुन कठायत आफ्नो अन्य व्यावसायलाई पनि निरन्तता दिदैँ कृषि पेशामा रमाउन थालेका छन् ।

उनीहरु हिजो आज प्रत्येक दिन बिहानको मिरमिरे घामसँगै साँझ अबेरसम्म पशुपालनमा बिताउँछन् । उनीहरु पहिलादेखि नै घरपरिवारहरु पनि कृषिमा अगालेका कारण बुबा÷ आमाको प्रेरणाले गर्दा यस पेसामा लागेको बताउँछन् । नरेन भन्छन् ‘मैले पनि अब कृषि पेसा अंगालेर कृषिमै रमाउन पर्छ भन्ने योजना बनाएको छु । त्यसैले आफ्नो लक्ष्य प्राप्तिको लागि दिनरात बाख्रा पालन व्यवसायमा निरन्तर खटिएको छु ।’ नरेनका अंकल अर्जुन र नरेन संयुक्त लगानीमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो । नरेनका अनुसार फार्म सञ्चालनमा करिव आठ लाख लगानी लागेको छ ।

उनीहरुले पहिलो चरणमै १२ कट्ठा जग्गामा एउटा घरसहित भाडामा लगेर फार्म सञ्चालन गरिरहेका छन् । उक्त घर र जग्गासहित ६÷६ महिनाको फरकमा ५०÷५० हजार गरी वार्षिक एकलाख रकम भाडा लाग्ने उनले बताए । उक्त फार्ममा तत्कालको लागि बाख्रा मात्र राखिएको छ । जम्मा ३५ वटा रहेका छन् । तीमध्ये खसी २१ वटा, लोकल बाख्रा ११ वटा, बोका दुईवटा, उन्नतजातको बोयर बोका एउटा रहेको छ । साथै नरेन आम नेपाली नागरिकहरु उमेर पुग्ने बित्तिकै विदेश तिर हिड्नु भन्दा स्वदेश मै कमाई राम्रो हुने उनको भनाई छ ।

हाल उक्त फार्ममा हाल नरेनका अंकल अर्जुन कठायत, अन्टी, भाइहरुले सहयोग गरिरहेका छन् । बारीको छेउछाउँमा दबदबे नाम गरेको घाँसको ३० बुटा समेत लगाइएको छ । साथै मौषम अनुसारको आलु, टमाटर, प्याज लगायतका मौषमी तरकारी पनि उत्पादन गर्ने निर्णय गरेको अर्जुनले बताए । बिस्तारै आयआर्जन बढ्दैँ गएपछि एउटा कटेजको पनि स्थापना गरि आम नागरिकलाइ सेवा गर्ने सोच बनाएको उनीहरु बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार