कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले ६ महिनादेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपछि शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द भएका थिए । नगरपालिकाले एक हप्ताभित्र शैक्षिक संस्थाहरु खोल्नेगरी तयारी थालेको हो । तयारी अनुसार नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु एकैपटक सञ्चालनमा आउँनेछन् । बुधबार भएको सम्पूर्ण शिक्षकका संगठन र सरोकारवालासहितको बैठकले एक साताभित्र विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख लुटबहादुर रावतले कक्षा ८ देखि माथिका कक्षाहरु सञ्चालन गर्नेबारे निर्णय भएको जानकारी दिए । ‘अबको एक हप्तामा नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार विद्यालय सञ्चालन गर्नेछौं’ उनले भने, ‘कोरोना कारणले शिक्षा क्षेत्रलाई निकै प्रभाव पारिरहेको छ । त्यसकारणले यो शैक्षिक सत्रलाई छोट्याएर अब पूरा गर्नुपर्छ ।’ पहिलो चरणमा माथिल्लो तहका विद्यालय खोल्ने र विस्तारै तल्लो तहका कक्षा सञ्चालन गर्दा उपयुक्त हुने उनको भनाई रहेको छ । नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुरका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी थालिएको बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी भएपछि कोहलपुरमा पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । नगर भित्रमा सम्पूर्ण विद्यालयहरुले आफ्नो विद्यालय सञ्चालन गर्नका लागि तीन दिन भित्र कार्यविधी ल्याउन निर्देशन दिइएको उनले बताए । सो तीन दिन भित्र ल्याएको कार्यविधि अनुसार विद्यालय सञ्चालन गर्ने उनको भनाइ थियो । बैठकमा सहभागी सरोकारवालाहरुले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने र कोरोना संक्रमण भयावह भएको अवस्थामा भने पुनः विद्यालय बन्द गर्नुपर्ने धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्