४ वर्षीय बालकसहित १४ डिस्चार्ज



कोहलपुर ।

बाँकेबाट शनिबार थप १४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका थप १४ जना डिस्चार्ज भएका हुन् । शनिबार खुल्ला कारागार आइसोलेसनबाट ५ जना, अतिथि होटल आइसोलेसनबाट ३ जना, होटल न्यु इन्द्रेणीबाट २ जना, लायन्स डेण्टल आइसोलेसनबाट २ जना तथा नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन र कृषि तालिम केन्द्र खजुराबाट १÷१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यस्तै कोहलपुरमा रहेको होटल अतिथिको आइसोलेसनबाट डिस्चार्ज भएका ४ वर्षीय बालकसहित तीनै जनालाई कोहलपुर नगरपालिकाले स–सम्मान विदाई गरेको थियो । आइसोलेसनमा बसेको १४ दिनपछि निको भएर फर्किएका उनीहरुलाई नगरप्रमुख लुट बहादुर रावत, स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोख्रेल, नगरपालिकाका प्रवक्ता माधव रिजाल लगायतको टोलीले प्रमाणपत्र र पुष्पगुच्छासहित स–सम्मान बिदाई गरेको हो । बिदाई कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले कोरोना महामारीबाट विश्व नै त्रसित भइरहेको अवस्थामा नेपालमा संक्रमणमुक्त हुनेको संख्या दिन प्रतिदिन बढ्दै जानु सबैको लागि सुखद् पक्ष रहेको बधाई समेत दिए ।

कोहलपुरमा पहिलेको तुलनामा संक्रमितको संख्या केहि बढेको भएपनि निको हुनेको संख्या पनि उत्तिकै रहेको उनले बताए । यस्तै नगर स्वास्थ्य शाखा प्रमुख पोख्रेलले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आफूहरु निरन्तर खटिरहेको बताएका थिए । उनले कोहलपुरको होटल अतिथिको आइसोलेसनमा रहेका संक्रमितहरुको अवस्थाबारे जानकारी दिँदै अहिलेसम्म १४ जना संक्रमित निको भएर डिस्चार्ज भई सकेको बताए ।

सो आइसोलसनमा २८ जना संक्रमित रहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको जानकारी दिए । साथै अलि धेरै समस्या देखिएका चार जनालाई रिफर गरिएको पनि उनले बताए । रिफर गरिएका मध्ये पनि दुई जनालाई निको भएर फर्किसकेको, एक जनाको खजुरामा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको शाखा प्रमुख पोख्रेलले जानकारी दिए ।

शनिबार नै कोहलपुर २ मा रहेको सामुदायिक आयूर्वेद एवम् प्राकृतिक अस्पतालमा केहि दिनमा नै आउने तयारीमा रहेको आइसोलेसनको पनि अनुगमन गरिएको प्रवक्ता माधव रिजालले जानकारी दिए । अनुगमनका क्रममा योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरका अध्यक्ष नम प्रसाद शर्माले अनुगमन टोलीलाई निर्माणाधिन आइसोलेसनको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको उनले बताए । आइसोलेसनका लागि लगभग सबै तयारी पुरा भइसकेकोले अब केहि दिनमै सञ्चालन आउने नगर प्रवक्ता रिजालले जानकारी दिए ।

बाँकेमा ११ जना थपिए

बाँकेमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बाँकेमा संक्रमितको संख्या एक हजार दुई सय नाघेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । शनिबार थप ११ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या एक हजार दुई सय नाघेको हो । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा महिला ४ र पुरुष ७ जना थपिएका हुन् । शुक्रबार भने बाँकेका थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै कुल संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । तीमध्ये ८ सय १७ जना कोरोना जितेर घर फर्किसकेका छन् । शनिबार साँझसम्म जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा ३ सय ८७ जनाको उपचार भइरहेको छ । तीन महिला र तीन पुरुष गरेर ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार