शुभाकर विश्वकर्मा । कोहलपुर ।
‘राम्रोसँग पुग्यो भयो, काम पाइयो त । यहाँ त सासु बिरामी भएर उपचार गर्न समस्या भएको छ । भर्खर अस्पतालबाट कोठामा ल्याएकी छु । खाना खुवाएर आए, छोरालाई हेर्नु भनेकी छु ।’ प्रेमा सार्की रोजगारीका लागि एकसाता अघि भारत गएका श्रीमानसँग फोनमा कुरा गर्दै थिइन् । सोमबार बिहान साढे ९ गते कोहलपुरको रेडक्रस लाइन नजिकै एक रुखको फेदमुनी ग्राहकको प्रतिक्षा गरिरहेकी प्रेमा निकै निरास
देखिन्थिन् । घरपरिवार पनि राम्रैसँग चलेको थियो । अरुसँग हात थाप्नु परेको थिएन । खान, लाउन र बस्न पनि समस्या थिएन । एक वर्षयता जुत्ता सिलाइरहेकी थिइन् । श्रीमान साउने सार्की लेबरी काम गर्थे ।
श्रीमान–श्रीमतीको कमाईले पाँच जनाको परिवारलाई पाल्न कुनै समस्या पनि थिएन । तर गत चैत्र महिनायता पूर्णरुपमा कामविहीन हुँदा अहिले साँझ–विहानको छाक टार्न समेत समस्या भएको उनी बताउँछिन् ।उनी भन्छिन्,‘यो कोरोनाले त विचल्ली नै बनायो । कोठाभाडा तिर्न नसकेर ऐलानी जग्गामा सरेकी छु । हामी दुःखीको त गाँस खोसिएको छ ।’ खअहिले बिरामी सासु, दुईछोरा कोहलपुर– ११ को क्रिकेट मैदान जाने ऐलानी जग्गामा टहरा हालेर बसेको उनले बताइन् ।
प्रेमाका अनुसार कोरोना भाइरसको समस्याका कारण परिवारको बिचल्ली नै भएको छ । देशमा कामगरी जहान पाल्ने विकल्प नदेखेपछि उनका श्रीमान साउने एकसाता रोजगारीको लागि भन्दै भारतको सिम्ला पुगेका छन् । उनी कोहलपुरमा भएको बन्दको समयमा समेत रुखको फेदमा ग्राहकको प्रतिक्षामा दिनभर कुरिरहेकी छन् । बन्दको समयमा कुनै दिन एक रुपैयाँ समेत व्यापार नहुने समस्या रहेको उनले जानकारी दिइन् । व्यापार भइहालेपनि दिनमा १ सय भन्दा माथि हुँदैन । त्यसले एक पाकेट तेल किन्न समेत नपुग्ने उनको भनाई छ । लकडाउनको समयमा नगरपालिका र केही सहयोगी दाताको सहयोगले काम चलेपनि अहिले भने फेरी समस्या भएको छ । कोरोनाले काम खोसेको बताउँदै उनले भनिन्, ‘सरकारको बन्दले हामीलाई भोको बनायो ।
कोरोनाले गाँस खोसियो, गरिबीले बाँस खोसियो । लामो समय घर र भाडा तिर्न नसक्ने भएपछि सरकारी जग्गामा टहरामा बस्दै आएकी छु ।’ यस्तै कोहलपुरमा ठेला चलाउँदै आएकी सपना विष्टको समेत समस्या उस्तै छ । ठेलागाडामा फलफूल बेच्ने उनको व्यापार समेत लामो समयदेखि ठप्प जस्तै छ । फलफूल बेचेरै तीन जनाको परिवार पाल्दै आएको भएपनि लामो समयको लकडाउन र दुईसाता देखिको बन्दले समस्या भएको बताउँछिन् । ‘पहिलाको जस्तो खास्सै कमाई छैन । फलफूल ल्याएर बाहिर निस्कियो प्रहरीले रोक्छ ।
व्यापार राम्रो छैन’ उनले भनिन् । उनका अनुसार विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सबै भन्दा ठूलो मार दैनिक कामगरी खाने र फुटपातमा व्यापार गर्नेहरुलाई भएको छ । स्थानीय सरकारले समेत साना व्यवसायीहरुलाई दुःख दिने गरेको उनको दुःखेसो छ । छोराछोरी स्कूल नजाने भएर अलि खर्च बचेको छ । नत्र भने मलाई निकौ समस्या हुने थियो । पूर्ण रुपमा यसमा निर्भर छौ । साहुबाट उधारोमा ल्याउनुपर्छ । व्यापार भएन भने तिर्न पनि समस्या हुन्छ । दिनभरी डुल्दा पनि पहिलाको भन्दा दोब्बर कम पनि व्यापार नहुने उनले बताइन् । पछिल्लो समय बाँकेको कोहलपुरमा कोरोना संक्रमित बढ्न थालेपछि भाद्र १ गते भएको बन्दले फुटपात व्यापार जिविकोपार्जन गर्नेहरुलाई समस्या भएको छ ।









प्रतिक्रिया दिनुहोस्