कोरोना भाइरस (कोभिड–१९) फैलिएको त्रास बढेपछि ‘समुदायमा स्याम्पलिङ’



दाङ ।

समुदायमा कोरोना भाइरस (कोभिड–१९) फैलिएको त्रास बढेपछि दाङमा नमूना परीक्षणको दायरा बढाइएको छ । लकडाउन खुकुलो बनेसँगै समुदायमा कोरोना पुगे नपुगेको थाहा पाउन नमूना संकलनलाई तिव्रता दिइएको हो ।

त्यसको लागि बुधवारबाट जिल्लाका विभिन्न स्थानमा ‘समुदायमा स्याम्पलिङ’ लिन सुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सम्बन्धित स्थानीय तहको समन्वयमा नमूना संकलन थालिएको कोरोना रोग स्रोत व्यक्ति कमल चन्दले जानकारी दिए ।

‘क्वारेन्टिनबाट संकलन गर्ने स्वाबको नमूना अहिले कम भइसकेको छ’ उनले भने, ‘लकडाउन खुकुलो भएसँगै कतै समुदायमा नै कोरोना पुगिसकेको छ की भनेर समुदायलाई लक्षित गरेर स्याम्पल लिने काम गरिरहेका छौं ।’ ‘समुदायमा स्याम्पलिङ’ अन्तरर्गत प्रहरी, बैकिङ स्टाफ, नीजि अस्पताल र थुनुवाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइसकिएको छ ।

समुदायमा कोरोना पुगे नपुगेको परीक्षणको लागि प्रदेश ५ सरकारले नै कहाँ–कहाँ नमूना संकलन गर्ने भन्ने मापदण्ड नै बनाइदिएको छ । सोही अनुसार स्वास्थ्य कार्यालय दाङले स्वाबको नमूना संकलन गरिरहेको हो । कोरोना स्रोत व्यक्ति चन्दका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा स्वाब संकलन गर्न सुरु गरिसकिएको छ ।

देशका विभिन्न जिल्लामा समुदासम्म नै कोरोना पुगिसकेको पाइएपछि दाङमा समेत सोही अनुसार स्वाब संकलन सुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सबै स्थानीय तहका समुदाय स्तरबाट संकलन गरिएको स्वाब रिपोर्टको आधारमा दाङमा कोरोना समाजमा पुगे नपुगेको पुष्टि हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रबार