कोहलपुर ।
‘रोहिणी खोला नजिकै भएको घर बाढीले बगायो । वर्षेनी आइरहने बाढीले खेतियोग्य जमिन कटान गर्छ । दुःख गरेर लगाएको धान बगाएर लैजान्छ । यो वर्षपनि यस्तै समस्या सुरु भइसकेको छ ।’ साउन पहिलो साता सिम्री गाउँस्थित रोहिणी खोलाको छेउमा भेटिएकी थिइन्, कोहलपुर नगरपालिका– १३ की बेलकुमारी परियार । उनी अघिल्लो दिन भएको वर्षाले धान लगाएको खेती कटान गरेपछि थप क्षति नहोस् भनेर बार लगाउन आएकी रैछन् । मिसन टुडेसँगको कुराकानीमा उनले २०७५ मा खोला नजिकै रहेको घर बाढीले बगाएको जानकारी दिइन् ।
उनका अनुसार त्यही बेला देखि ४ जनाको परिवार भाडाको घरमा बस्दै आएको छ । लालाबाला र भोको पेट पाल्न परियार दम्पति ज्याला मजदुरी गर्छन् । त्यही मजदुरीबाट किनेको जमिन वर्षेनी कटानको चपेटामा परेको छ । खोला जनिकै रहेको २ कट्ठा जग्गा आधा बाढीले कटान गरिसकेको उनले जानकारी दिइन् । त्यो जमिनमा उनले किनेपछि २ वर्ष मात्रै धान लगाएकी थिइन् । अहिले भने जति धान लगाएपछि प्रत्येक वर्ष कटान भएपछि क्षति हुने गरेको उनको भनाई छ । ‘अरु जग्गा जमिन छैन । भएको जग्गा बगाइदियो । के गर्ने समस्या भएको छ ।
भाडामा बस्दै आएका छौ ।’ उनले भनिन् । मजदुरी गरेर खानुको विकल्प नरहेको उनले बताइन् । आफूहरु वर्षेनी आउने बाढीका कारण जोखिममा रहेको र बाढी प्रभावित भएपछि कसैबाट सहयोग पाउन नसकेको उनको गुनासो छ । उनको परिवार १० वर्ष अघि सुर्खेतबाट बसाइसराई गरेर कोहलपुर आएको थियो । बाढी कै कारण जमिन कटानको समस्या भोगिरहेका थिए । ती मध्ये मित्रलाल दमाई पनि एक हुन् । उनको पनि समस्या बेलकुमारीको भन्दा फरक छैन । बाढीले धान लगाएको खेतियोग्य जमिन कटान गरिदिएको छ । उनका अनुसार खेत कटान गरेर हँुर्कदै गरेको धान मासिएपछि समस्या भएको छ । उक्त स्थानमा सात जनाले सामुहिक रुपमा जग्गा खरिद् गरेका
थिए । वर्षेनि कटानको समस्या भएपछि स्थानीय सरकारलाई तटबन्ध निर्माण गर्नको लागि आग्रह गरेको भएपनि सुनुवाई हुन नसकेको उनको भनाई छ । पछि सबै जनाले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ उठाएर जाली हालेको भएपछि प्रयाप्त नहुँदा फेरी बगाएर लगेको उनले जानकारी दिए । ‘बाँँच्नको लागि संघर्ष गर्ने प¥यो । जमिन नासिदै गएको छ । बजारमा गएर मजदुरी गर्छौ । स्थानीय सरकारले भर छैन । वर्षेनि कटानको डर छ ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । उक्त क्षेत्रमा २०७२ सालमा आएको ठूलो बाढीले सबै भन्दा बढी क्षति पु¥याएको थियो । त्यसपछि वर्षेनि कटान गरिरहेको भएपनि स्थानीय सरकारको ध्यान जान नसकेको स्थानीयहरुको गुनासो रहेको छ । खोला छेउमा तटबन्ध निर्माण गरियो भने पनि खेतियोग्य जमिन कटान नहुँने उनीहरुले बताएका छन् ।
रोहिणी खोलाको कटानका कारण वडा नम्बर १२ र १३ का विभिन्न बस्ती प्रभावित हुने गरेका छन् । त्यहाँका खेतियोग्य जमिन कटान मात्रै होइन बस्ती समेत जोखिम बन्दै गइरहेका हुन् । वडा नम्बर १३ का वडा सदस्य वीर बहादुर वली स्थानीयले गुनासो गरेका क्षेत्रमा वडा तथा नगरपालिकाका प्रतिनिधिहरुको सहभागितामा अनुगमन गरिएको बताए । उनका अनुसार अनुगमनमा जाँदा धेरै स्थानमा धान लगाएको खेत कटानको समस्या देखिएको छ । वडा कार्यालयले वर्षेनि रोहिणी खोलाले कटान गरेका क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ । उनी भन्छन्, ‘हामीले अनुगमन गरेका छौं ।
यसको दीर्घकालिन समाधान खोज्नु पर्ने देखिन्छ । त्यसैले नगर तथा वडाका बजेटबाट तटबन्ध निर्माणमा ध्यान दिन्छौं ।’ यता नगरस्तरीय विपद् व्यवस्थापन समितिले बाढी तथा कटानको समस्यामा परेका नागरिकलाई क्षतिको आधारमा राहतको प्रबन्ध मिलाउने जनाएको छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले विपद् व्यवस्थापन समितिले क्षतिको एकिन गरेर सहयोग गर्न सकिने बताए । उनका अनुसार यसबाट भएको क्षतिको विवरण दिइनेछ । कोहलपुरमा वर्षेनि डुडुवा र रोहिणी खोलाका कारण डुबान र कटानको समस्या हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्