कोहलपुर ।
माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा समेत पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुर नगरपालिकामा समेत सुरु भएको हो । अभियानको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुभारम्भ गरेका थिए । कोहलपुर १४ हवल्दारपुरस्थित माध्यमिक विद्यालयमा संचालन अभियानको पहिलो दिन उनले खाना बितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुग्ने धारणा राखे ।
महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक सन्देश दिने नगर प्रमुख रावतले बताए । पहिलो दिन सोमबार हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको थियो । गत असार १६ गते सुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको छ । यस क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा न–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं–१९ को आलानगर, मोहनपुर, वडा न–२० को गायत्रीनगरमा खाना बितरण गरिएको थियो ।
यस्तै नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई पनि यस अभियानका क्रममा खाना बितरण गरिएको छ । कोरोना महामारीको प्रकोपका कारण सबैतिर समस्या भएपनि दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई परिवार पाल्न झनै गाह्रो बनाएको छ । बिद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस् भनेर अभियान सुरु गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।
दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाइनेछ । स्थानीय तहको सहकार्यमा यूएन वुमनको सहयोगमा सञ्चालित यस अभियानका क्रममा नेपालगञ्जकी उपमेयर उमा थापामगर, १२ का वडाअध्यक्ष बुद्धिसागर सुबेदी, १९ का वडा अध्यक्ष प्रशुराम बर्मा लगायत सहभागि रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्