कोरोनालाई जितेर वडाध्यक्षसहित २९ जना डिस्चार्ज



कोहलपुर ।

कोरोना भाइरसलाई जितेर राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतसहित ७ जना मंगलबार डिस्चार्ज भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनबाट बस्नेतसहित ३ जना, राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित जनमुखी सामुदायिक वन समुहको आइसोलेसनबाट ३ र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ को आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएका वडाअध्यक्ष बस्नेतसहित सबैलाई शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनमा पुगेर राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, कार्यपालिका सदस्य नैना खत्री लगायत जनप्रतिनिधी, कर्मचारी, आफन्त, शुभेच्छुक, वडाबासी लगायतले भब्य रुपले स्वागत गरेका थिए ।

डिस्चार्ज भएपछि संक्षिप्त प्रतिक्रिया दिदै वडाअध्यक्ष बस्नेतले सबैको माया, स्नेह र उच्च मनोबलले कोरोना भाइरसलाई जित्न सहज भएको बताए । ‘तपाईहरु सबैको माया र स्नेहले गर्दा मैले उच्च मनोबलका साथ कोरोना भाइरसलाई जित्न सफल भएको हुँ,’ उनले भने ।

भारतबाट फर्केर सिमाक्षेत्रमा अलपत्र परेका वडाका बासिन्दालाई उद्धार गरेको केहीदिन पछि जेठ ११ गते वडाअध्यक्ष बस्नेतलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँ शिवशक्ती माध्यामिक बिद्यालयको आइसोलेसनमा नियमित रुपमा बस्दै आएका थिए । बस्नेतलाई कोरोना पोजेटिभ देखिएपनि उनको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

पहिलो चरणमा परिक्षण गरिएको २६ र दोस्रो चरणमा परिक्षण गरिएको ७१ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘आइसोलेसनमा बस्दा नियमित रुपमा ब्यायाम गर्ने काम भयो, खानपिनमा विशेष ध्यान दिइयो, मनोबल उच्च राखियो, साथीभाई र इष्टमित्रबाट हौसला पाइरहे, मलाई कोरोनाबाट मरिन्छ भन्ने रतिभर पनि डर थिएन,’ उनले भने ।

डिस्चार्ज भइसकेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार एक हप्ताजति घरमै होम क्वारेन्टिनमा समय बिताउनेछु र त्यसपछि कोरोना भाइरस विरुद्धको अभियानमा लाग्ने वडाअध्यक्ष बस्नेतले बताएका छन् ।

‘कोरोना भाइरस भएको मान्छेलाई हेर्ने दृष्टिकोण समाजमा गलत छ, कोरोना भाइरसलाई जित्न भन्दा समाजको गलत बुझाईलाई चिर्न बढी चुनौती छ, समाजको गलत दृष्टिकोणलाई परिवर्तन गर्न म सक्रिय हुनेछु र आइसोलेसनमा बसेका संक्रमित ब्यक्तिलाई परामर्श दिने काम गर्नेछु,’ उनले भने ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार मंगलबार राप्तीसोनारीका ७ र नरैनापुरका २२ जना गरी कुल २९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २८ गते बुधबार