यानबी साहु । कोहलपुर ।
लकडाउनको समयमा मासुको मुल्य वृद्धि भएको उपभोक्ताहरुको गुनासो बढेपछि बाँके कोहलपुर क्षेत्रका मासु पसलहरुको अनुगमन गरिएको छ । नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको निर्देशनमा खटिएको बजार अनुगमन टोलीले आइतबार कोहलपुरका नगरपालिका क्षेत्रका विभिन्न मासु पसलहरुको अनुगमन गरेको हो । उपभोक्ताहरुको गुनासो बढेपछि कोहलपुरको साझाचोक, पिपलचौतारा, हाईस्कुल, हवलदारपुर लगायतका क्षेत्रमा सञ्चालित मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मासुको मुल्यमा एकरुपता कायम नगरि व्यवसायीहरुले मनोमानी रुपमा बेच्ने गरेको पाइएको छ ।
कोहलपुरमा सञ्चालनमा रहेका पसलेपिच्छे फरक मुल्य लिने गरेको पाइएको अनुगमन समितिले जनाएको छ । यस्तै अनुगमन गरिएका प्रायः जसो पसलहरु दर्ता नविकरण विनै सञ्चालन भइरहेको पाइएको थियो । दर्ता नविकरण नभएका तथा मुल्यसूची नराखेका पसलेहरुलाई आफ्नो व्यवसाय नगरपालिकामा दर्ता गर्न र सबैले देख्ने गरि मुल्यसूची टाँस्न आग्रह गरिएको अनुगमन समितिका सदस्य गोबिन्द बहादुर रोकायाले जानकारी दिए । ‘प्रायजसो मासु पसलहरु दर्ता नविकरण नभएको पाइयो’ उनले भने, ‘उहाँहरुलाई लकडाउन लगत्तै नविकरण गर्न भनेका छौँ । केहि पसलहरुले मुल्यसूची पनि नराखेको पाइएकोले सबैले देख्ने गरी मुल्यसूची पनि राख्न भनेका छौँ ।’
बजार अनुगमन समितिका सदस्य बीरबहादुर विकले अनुगमनका क्रममा प्रत्येक पसलमा मासुको मुल्य फरक फरक पाइएको बताए । सप्लायर्सहरुबाट नै व्यवसायीहरुले महँगोमा खरिद गरेर विक्रि गर्दा मासुको मुल्य उपभोक्ताहरुलाई पनि केहि महँगो पर्न गएको बताएको हुनाले केहि दिनमा सप्लार्यसहरुलाई पनि अनुगमन गरिने उनले जानकारी
दिए । व्यवसायी वा सप्लार्यसहरुले कालोबजारी वा मनोमानी गरेको पाइएमा कारवाहीका लागि वाणिज्य कार्यालयलाई आग्रह गरिने उनको भनाई रहेको छ । ‘प्रत्येक पसलमा मासुको मुल्य फरक फरक छ, उनले भने व्यवसायीहरुले सप्लायर्सबाट नै महँगोमा खरिद गर्नु परेकोले केहि महँगो भएको भनेका छन् ।
व्यवसायी वा सप्लायर्सले कालोबजारी गरेको भए कारवाहीको प्रक्रियामा जान्छन् ।’ व्यवसायीहरुले उपभोक्ताहरुलाई बोइलर कुखुराको मासु प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्ममा बेच्ने गरेको अनुगमन समितिका सदस्य चन्द्र बहादुर बुढाले जानकारी दिए । नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको सबै मासु पसलहरुमा मुल्यमा एकरुपता नरहेको पाइएको उनले बताए । ‘व्यवसायीले ३०० देखि ४०० रुपैयाँ प्रतिकिलो मासु बेच्ने गरेको पाइयो, उनले भने, ‘सबैले आ–आफ्नै तरिकाले मनोमानी बेचिरहेका छन् ।’ मासु व्यवसायीहरुलाई सामाजिक दुरी कायम गरेर पसल सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।
‘व्यवसायीहरुलाई लकडाउनको पालना गर्दै भिडभाड नगरि सामाजिक दुरी कायम गरेर बेच्न आग्रह गरेका छौ ।’ उनले भने ‘अर्को पटक अनुगमनमा जाँदा सामाजिक दरी कायम नगरि भिडभाड गरेको पाइएमा कारवाही गछौँ ।’ उता व्यवसायीहरुले भने सप्लायर्सबाट नै कुकुराहरु महँगो आउने भएकाले मासुको मुल्य बढेको बताएका छन् । ‘कुखुरा गाडीबाट झार्दाखेरि नै हामीहरुलाई महँगोमा आउँछ, एक व्यवसायीले भने उनीहरुले नै प्रतिकिलो ४०० रुपैयाँ सम्ममा बेच्नुहोला भन्छन् । सप्लायर्सहरुलाई नै अनुगमन तथा निरीक्षण गर्नुहोस् ।’ यस क्षेत्रका कृषकहरुले आफूहरुले घरमा उत्पादन गरेका कुखुराले मुल्य नपाएको गुनासो आइरहेको बेला बजारमा कुखुराको अभाव हुनु र मुल्यमा कालोबजारी हुनु बिचौलियाहरुको चलखेल रहेको हुन सक्ने आँकलन गर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्