कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसिरहेका नागरिकहरुको अनिवार्य पीसीआर परीक्षण गर्न माग गरिएको छ । क्वारेन्टिनमा रहेका सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाउन नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिले माग गरेको हो । भारत लगायतका क्षेत्रबाट आएका नागरिकको आरडीटी परीक्षण गर्दा संक्रमण फैलिन सक्ने भएकोले अनिवार्य पीसीआर परीक्षण गर्न कोहलपुर काँग्रेसले सरोकारवाला निकायलाई बिहीबार अपिल गरेको छ ।
नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिका सभापति बलराम शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा बागेश्वरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा गरिएको आरडीटी परीक्षण गरिएका ६३ जनामध्ये दुई जनामा पोजेटिभ देखिएको भन्दै नगर क्षेत्र भरिका क्वारेन्टिनमा रहेकाहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिनु पर्ने उल्लेख गरिएको छ । ‘नेपाल सरकारको कोरोना नियन्त्रण निर्देशिका अनुसार क्वारेन्टिनमा रहेकाहरुको पीसीआर परिक्षण गरिनुपर्छ ।
आरडीटी परीक्षण प्रभावकारी नहुने र यसले समुदाय स्तरमा महामारी निम्याउँछ’ उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यता कोहलपुर नगरपालिकाले १७ वटा क्वारेन्टिनमा साढे पाँच सय बढी नागरिक बसिरहेको जानकारी दिएको छ । स्थानीयहरु पनि भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुलाई पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्