रावन विश्वकर्मा । बाँसगढी ।
बर्दियाको बारबर्दिया नगरपालिकाले श्रमिकको लागि खाद्यान्न कार्यक्रमको अवधारण ल्याएको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणले मात्रै समस्या समाधान नहुने भएपछि श्रमिकको लागि खाद्यान्न कार्यक्रमको अवधारणा ल्याई सञ्चालनमा ल्याएको हो । नगरपालिकाले श्रमिकका लागि खाद्यान्न कार्यक्रमका लागि ३३ लाख बराबरको बजेट समेत छुट्याएको छ । ११ वटै वडामा योजना बनाएर विकास निर्माणसँगै जोड्दै श्रमिकको लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तरगत प्रत्येक वडामा ३ लाख बराबरको विकास निर्माणको योजना बनाइएको छ । नगरपालिकाले एक वडाबाट कम्तिमा ५० जना अतिविपन्न र समस्यामा परेका नागरिकलाई समेट्ने लक्ष्य अनुसार कार्यक्रमलाई अगाडी बनाएको नगर प्रवक्ता दुर्गा बहादुर विश्वकर्माले जानकारी दिए । वडा मार्फत सात दिने सुचना निकालेर काम गर्नेको नामावलीको आधारमा श्रमिकको लागि खाद्यान्न कार्यक्रममा समावेश गराएर काममा लगाईनेछ । कार्यक्रममा आवद्ध एक जनालाई एक दिन काम गरे बापत ५ सय १० रुपैयाँ बराबरको चलनचलती बजार भाउ अनुसार खाद्यान्न उपलब्ध गराईने नगर प्रवक्ता विश्वकर्माले बताए । नगर क्षेत्रमा विकासको काम पनि हुने लकडाउनले समस्यामा परेका नागरिकहरुको समस्या पनि समाधान हुने भएकाले श्रमिकका लागि खाद्यान्न कार्यक्रमको अवधारणा ल्याएको नगर प्रमुख दुर्गा बहादुर थारुले जानकारी दिए ।
‘श्रमिकका लागि खाद्यान्न कार्यक्रमले रोजगारीको अवसर सृजना गरेको छ’ उनले भने, ‘लकडाउनले गर्दा श्रम गरेर खानेहरुको रोजगार गुमेको छ । यो कार्यक्रमले गर्दा उनीहरुको लागि रोजगारीको अवसर जुटेको छ ।’ उनले नगरपालिकाले सञ्चालन गरेको कार्यक्रमले श्रम गर्ने भावना जागृत गर्ने र नगरको विकासमा समेत ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । बारबर्दिया नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि श्रमीक कार्यक्रम समेत सुरु भएको छ । नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४८ लाख बढी बजेट रहेको नगरपालिकाले जनाएको छ । बारबर्दिया १० को कुम्भर अड्डा तथा बेपत्ता स्मृती पार्क सिंम्रहवामा रहेको ताल निर्माणको लागि उद्घाटन गरेर बुधबारबाट रोजगार कार्यक्रम सुरु गरिएको हो । जसमा ४० जनाले २० दिन बराबरको रोजगार पाएका छन् ।









प्रतिक्रिया दिनुहोस्