बर्दिया ।
जिल्ला प्रहरी कार्यालयको मुलगेट अगाडिबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जाँदा बा १२ च ६२९९ नम्बरको गाडीमा सवार उनीहरुलाई ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको थियो ।
यसले लकडाउनको समयमा समेत लागुऔषधको कारोबार निर्वाध रुपमा चलिरहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेटबाट नै उनीहरुलाई ठूलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ पर्नेमा कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नम्वर १ का २८ वर्षीय राजन रावल, वडा नम्वर ९ का ३३ वर्षीय रमेश न्यौपाने, कैलाली लम्कीचुहा नगरपालिका वडा नम्वर ५ निवासी २९ वर्षीय रोशन कडायत र दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्वर ७ निवासी २७ वर्षीय आकास शाह रहेका
छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडि गाडी खानतलासीका क्रममा बा १२ च ६२९९ नम्बरको गाडीको स्टेरिङभित्र कालो प्लाष्टिकमा पोकोपारी राखेको अवस्थामा लागुऔषध बरामद गरिएको थियो ।
बरामद ब्राउनसुगर, गाडी र निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए । पक्राउ परेका चारै जना उपर लागुऔषध कारोबार तथा ओसार पसार सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउनको लामो समय भइसक्दा समेत अनेक उपाय लगाउदै लागुऔषधका कारोबारीहरुले ब्राउनसुगर बिक्री वितरण गरिरहेका छन् ।