29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

प्रदेश ५ मा पहिलो पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७  

रुपन्देही

नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी|) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो ।

बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ ।

उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले जानकारी दिए । डा. होदाले भने, ‘बुधबार आज दिउँसोसम्म रिपोर्ट आउँछ ।’

उनी लामो समयदेखि घरमै बस्दै आएका थिए । उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए ।

उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्‍यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि पश्चिम नवलपरासीमा एक सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख १०, २०७७     10:05:11 AM  |