कोहलपुर ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा समेत कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने पीसीआर मेसिन ल्याएको छ । प्रदेश ५ सरकारको आर्थिक सहयोगमा अस्पतालले केही दिनअघि उक्त मेसिन खरिदको लागि टेण्डर खुलाएको थियो ।
सोही प्रक्रियामार्फत मेसिन खरिदको जिम्मा पाएको कम्पनीले काठमाडौंबाट मंगलबार बिहान मात्र मेसिन नेपालगञ्ज ल्याएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले प्रयोगशाला बनाउने कोठामा अझै पनि मर्मत सम्भारको काम भइरहेको बताए ।
‘पीसीआर मेसिन राख्ने कोठाको अझै सबै काम सकिएको छैन’ उनले भने, ‘त्यसैले मेसिन जडानको काम सम्भवत बुधबारदेखि सुरु हुनेछ ।’ अस्पतालमा अहिले मेसिन मात्र आएको बताइएको छ ।
सप्लायर्स कम्पनीले उपकरण जडानका लागि प्राविधिक खटाएको छैन । ‘हाम्रा प्राविधिकले नै जडानको काम गर्नेछन् ।
कुनै समस्या भए भिडियो कलमार्फत समाधानको उपाय अवलम्बन गरिनेछ । त्यसबाट पनि समाधान नभए कम्पनीबाटै प्राविधिक आउनेछन्’ डा. थापाले भने । बिचमा कुनै समस्या नआए पाँच दिनपछि कोरोना परीक्षण गर्न सकिने उनले बताए ।
भेरी अस्पतालले कोरोना जाँचका लागि रियल टाइम पीसीआर मेसिन तथा सेवा सञ्चालनका लागि आवश्यक सामग्रीहरु (बायो सेफ्टी च्याम्बर, माइक्रोपीपिटिज, इन्कुबेटर, सेन्ट्रफुज तथा रिएजेन्ट) खरिदका लागि तीन दिनको म्याद राखेर विज्ञापन खोलेको थियो ।
विज्ञापनमा ब्राण्ड, मोडल, तथा स्फेसिकेसन र सामान आपूर्ति र जडान गर्न लाग्ने समय खुलाएर लागतसहितको प्रस्ताव आव्हान गरेको थियो । अस्पतालको मूल्यांकन समितिका अध्यक्ष डा.बद्रि चापागाईले अस्पतालमा उपकरण आएकाले चाँडै सञ्चालन गरिने जानकारी दिए । ‘कोरोना जाँच्ने मेसिन ल्याएपछि अस्पताल परिसरमा खुसीको माहोल थियो’ उनले भने, ‘बेहुली अन्माएको जस्तो भएको छ ।
हाम्रा लागि उपकरण आउनु नै सबैभन्दा ठूलो खुसीको कुरा हो ।’ अस्पतालमा तत्काल कोरोना जाँचका लागि छुट्टै जनशक्तिको आवश्यकता पर्नेछैन । अस्पतालमै भएका प्राविधिकबाट नै काम चलाउने तयारी छ ।
चाप बढ्दै गएमा जनशक्ति थप गर्नुपर्ने अस्पताल प्रशासनले जनाएको छ । प्रदेश ५ सरकारको मन्त्रीपरिषद् निर्णयबाट भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
कोरोना नियन्त्रण उच्च स्तरीय समिति र स्वास्थ्य मन्त्रालयले राजधानी बाहिर धरान, पोखरा र नेपालगञ्जमा तीन स्थानमा कोरोना जाँच प्रयोगशाला स्थापना गर्ने निर्णय गरे पनि अन्तिम घडिमा यहाँ स्थापना गर्ने भनिएको प्रयोगशाला बुटवलमा बन्ने भएपछि प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्न सहयोग गरेको थियो ।
भेरी अस्पतालमै कोरोना जाँच हुने भएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ । बाँकेका विभिन्न क्वारेटान्इनमा यतिबेला साढे चार सय बढी मानिसहरु रहेका छन् ।
कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टाईनमा मात्र नभइ यसक्षेत्रका अन्य कोरोना आंशकित ब्यक्तिको समेत जाँच हुनेछ ।










प्रतिक्रिया दिनुहोस्