धेरैमा कोरोना सरेको भारतको धार्मिक सभामा सहभागी २० नेपालीको नमुना परीक्षण



धेरै जनामा कोरोना संक्रमण फैलिएको भारतको राजधानी दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा सहभागी २० नेपालीको नमुना (र्‍याल) परीक्षण गरिँदै छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिल्लीका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका उनीहरूको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको हो।

त्यस धार्मिक सभामा सहभागी २० नेपालीलाई क्वारेन्टिनमा राखिएको जानकारी प्राप्त भएपछि भारतीय पक्षसँग निरन्तर सम्पर्कमा रहेको दूतावासका प्रवक्ता हरि ओडारीले बीबीसीसँग बताएका छन्।

भारतीय अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार सबै नेपालीको नमुना परीक्षणको नतिजा आउन बाँकी छ।

प्रवक्ता ओडारीका अनुसार यसबारे प्राप्त सबै जानकारी नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ।

त्यसका आधारमा उनीहरूसँगै गएका कोही व्यक्ति नेपाल फर्किसकेका भए तिनको खोजी गर्न मद्दत पुग्ने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भारतीय सञ्‍चारमाध्यमका अनुसार यही मार्च १ देखि १५ सम्म दिल्लीमा सञ्‍चालित धार्मिक सभामा २० नेपालीसहित १६ देशका नागरिक सहभागी थिए।

जसमा कोरोना प्रभावित मलेसिया, इन्डोनेसिया, श्रीलंका, म्यानमार, किर्गिस्तान, थाइल्यान्ड, फ्रान्स, श्रीलंका, बंगलादेश, फिजी, कुवेत, अल्जेरिया, सिंगापुरलगायत मुलुकबाट मानिस सहभागी भएका हुन्।

तीमध्ये मंगलबार २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएकाे छ। साथै ६ जनाको मृत्युसमेत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १९ गते बुधबार