बुटवल ।
प्रदेश नम्बर ५ नेपालकै प्रमुख लगानी गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्न गइरहेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सम्मेलनको अवधारणा तय गर्दै वैशाखको ५ गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको पहिचान र परिचालन गर्नका लागि लगानी सम्मेलन आयोजना गर्न लागेको उनले दाबी गरे । प्रदेश सरकारले स्वदेशी निजी पूँजी एवम् प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्य लिएको मन्त्री चौधरीले बताए । लगानी सम्मेलनको पूवर्तयारीस्वरुप छलफल सकेर प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्न वैशाखमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनबाट प्रदेशको लगानीको लागि आवश्यक श्रोतको न्यूनतम पूर्ति गर्न सहयोग पुग्ने, स्वदेशी निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी, नविनतम प्रविधि एवम् ज्ञान परिचालन हुने अपेक्षा सरकारले गरेको छ । लगानी सम्मेलनबाट कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार भइ प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा पनि सरकारले गरेको मन्त्री चौधरीले बताए । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गर्ने सम्मेलनमा स्वदेशी, विदेशी लगानीकर्ता, नेपाल सरकारका सरोकारवाला निकाय तथा प्रतिनिधि, निजी क्षेत्रका छाता संगठनहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु, विषय विज्ञहरु, जनप्रतिनिधिलगायतलाई सहभागी गराउने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले लगानी सम्मेलनलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति बनाएको छ । यस्तै बैठकले लगानी सम्मेलन व्यवस्थापन तथा सहजीकरण गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश योजना आयोगका सदस्यसमेत सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य सचिव रहेको व्यवस्थापन तथा सहजीकरण समिति गठन गरेको छ ।
यसैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीको संयोजकत्वमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, प्रदेश स्तरीय निजी क्षेत्रका प्रतिनिधि सदस्य र प्रदेश योजना आयोगका सदस्य सदस्य सचिव रहने गरी परियोजना तयारी समिति गठन गरेको छ ।
लगानी सम्मेलनको प्रचारप्रसार गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार, पत्रकार महासंघका प्रदेश अध्यक्ष, राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख र सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहेको प्रचार प्रसार समिति गठन गरेको मन्त्री चौधरीले जानकारी दिए । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङ तुलसीपुरका धुव्र मजगैयालाई नियुक्त गरेको छ ।








प्रतिक्रिया दिनुहोस्