सुर्खेत ।
कर्णाली प्रदेशमा अब कसैले पनि सडकमा बसेर गाँस, बाँस र कपासको लागि समस्या भोग्नु पर्ने छैन् । कुनै पनि बेसाहारा, अशक्त, असहाय अभिभावक विहिनहरुले अब आफ्नो जिविकोपार्जनको लागि कुनै पनि नागरिकले सहयोग माग्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ । रोग, भोक, अशिक्षा, गरिबीको मारमा परेका नागरिकको लागि कर्णाली प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्नेछ ।
यस्ता नागरिकको मानव अधिकारको रक्षाका साथै सुरक्षित बासस्थान निर्माण गरी सरकारले स्वास्थ्य सुविधा सहितको भवन निर्माण गर्ने दीर्घकालिन योजना सहित सहयोगापेक्षी सडक मानवमुक्त अभियानको सुरुवात गरेको हो ।
कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको समृद्धिको लागि यो अभियानको सुरुवात गरिएको दाबी गरे ।
शनिबार एक भव्य समारोह बीच देश कै पहिलो प्रदेशका रुपमा कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश घोषणा कार्यक्रममा मुख्यमन्त्री शाहीले देशकै पहिलो प्रदेशको रुपमा कर्णालीलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिएको बताएका थिए ।
‘अब कर्णाली सडकमा बसेर जीवन बिताउने नागरिकको सुरक्षा सरकारले गर्छ’ उनले भने, ‘आर्थिक अभाव तथा शारिरीक रुपमा अशक्त व्यक्तिहरुको जीवनमा सुधार गर्दै स्वास्थ्य उपचार सहितको सुविधा युक्त संरचना निर्माणको लागि प्रदेश सरकार लागेको छ ।’ कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका यस्ता मानवको रक्षाको लागि सरकारले सामाजिक विकास कार्यालय मार्फत प्रत्येक जिल्लामा भवन निर्माणको प्रक्रिया सुरु गर्ने मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीका नागरिकको रक्षा सरकारले गर्छ’ उनले भने, ‘यस्ता असहाय नागरिकको सामाजिक दायित्व सरकारले बहन गर्छ ।’
अभिभावक नभएका बालबालिकालाई उचित शिक्षा सहितको व्यवस्था सरकारले गर्ने भन्दै उनले बालक देखी बृद्धबृद्धा र अपांगता भएका व्यक्ति, बेसाहाराहरुको अभिभावक सरकारले बन्ने जिकिर गरे । मुख्यमन्त्रीका अनुसार सडकमा बसेर आफ्नो जीवन निर्वाह गरेका नागरिक अब सडकमा बस्नु पर्दैन । यो अभियानमा सरकारले नेतृत्व गर्ने भएकोले यसमा सबैले सहयोग गर्न उनले आग्रह गरेका थिए ।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल भने, ‘प्रदेशभरी धेरै आमा बुबाहरु बेसहारा भएर बाँचिरहँदा कसरी हेरेर बस्न सकिन्छ, कमसेकम कर्णालीमा केही कर्णालीका कुनै पनि आमा बुवा, तथा बेसाहरा नागरीकहरु लागि दिन सके सरकारको यो कार्यक्रम सफल हुदैन ।’ कर्णालीमा सबै नागरीकहरु एक दिन भएपनि बढि बाँच्न सक्ने आधार बनाउनुपर्नेमा उनले जोड दिएका थिए । यसैबिच शनिबार देखी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको देउती बज्यै मन्दिर मगन्ते निषेधित क्षेत्र घोषणा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्