वडाअध्यक्ष खड्का भारतको बहराइचमा मृत फेला, आज साँझ बहराइचमा पोस्टमार्टम हुने



कोहलपुर ।

बाँके कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण बहादुर खड्का मृत फेला परेका छन् । भारतको उत्तरप्रदेश राज्यको बहराइचको एक होटलमा उनी बुधबार बिहान मृत फेला परेका हुन् । बहराइचमा रहेको शंकर होटेलको कोठामा वडाअध्यक्ष खड्का मृत अवस्थामा फेला परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिइन् । ‘घटनास्थलको अवस्था हेर्दा शंकास्पद देखिन्छ’ बहराइच पुगेकी उनले भनिन्, ‘बिहीबार साँझ मात्र पोस्टमार्टम हुने भएकाले हामी कोहलपुर फर्किसकेका छौं ।’

खड्कालाई मंगलबार बेलुका र बुधबार बिहानैदेखि फोन सम्पर्क गर्दा मोबाईल अफ रहेको वडा नम्बर १२ का सदस्य एवम् कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिइन् । ‘मंगलबार दिनभर मोबाइल अफ थियो, बुधबार बिहान पनि फोन गर्दा मोबाइल अफ थियो’ उनले भनिन्, ‘दिउँसो बहराइचबाट होटेलको साहुले फोन गरेर जानकारी गराएपछि घटना थाहा भयो ।’ वडाअध्यक्ष खड्काले आफू सुर्खेत जान लागेको भनी वडा कार्यालय र परिवारलाई पनि जानकारी दिएका थिए । सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान ७ बजे घरबाट निस्केका खड्काको बुधबार दिउँसो बहराइचमा रहेको शंकर होटेलमा शव भेटिएको भनी खबर आएको हो ।

जमुनाहा नाकामा जडान गरिएको सिसिटिभी क्यामेरामा उनी पैदल रिक्सामा बसेर मंगलबार बिहान १० बजेर २४ मिनेट जाँदा भारततर्फ गइरहेको दृव्य कैद भएको छ । सिसिटिभीमा कैद भएको दृव्य अनुसार उनी सवार पैदल रिक्सामा अर्का मास्क लगाएका व्यक्तिसमेत सवार रहेको देखिन्छ । मृतक वडाअध्यक्ष खड्काले केही दिनका लागि सुर्खेत मेहलकुना जाने भन्दै वडा सदस्य नैन बहादुर शाहीलाई कार्यवाहक दिएर गएको नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले बताइन् ।

उनी मंगलबार भएको कोहलपुर नगरपालिकाको छैटौं नगर सभामा समेत सहभागिता जनाएका थिएनन् । वडाअध्यक्ष खड्का मृत अवस्थामा फेला परेको खबर पाएपछि बुधबार साँझ कोहलपुरका जनप्रतिनिधी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु बहराईच गरेका थिए । ६८ वर्षीय वडा अध्यक्ष खड्का स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट विजयी भएका थिए ।

वडाअध्यक्ष खड्काको एक्कासी बहराईचमा मृत भेटिएको खबरले नगरपालिका र परिवार शोक मग्न भएको नगरपालिकाका प्रवक्ता माधव रिजालले बताए । यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले घटनालाई सुक्ष्म रुपले हेरिएको बताए । ‘कोहलपुर १२ का वडाअध्यक्ष ज्यु बहराइचको होटलमा मृत फेला पर्नुभएको छ’ उनले भने, ‘भारतीय प्रहरीसँग सहकार्य गरेर हामीले पनी अनुसन्धान अगाडि बढाएका छौं ।’

होटलको कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी मृत भेटिएको बहराईचको प्रहरीले बताएको प्रहरी उपरीक्षक ओलीले बताए । ‘बहराईचका सुरक्षा अधिकारीहरुसँग बुझ्दा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएका थिए’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीहरुले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताएका छन् ।’ ‘मंगलबार सुर्खेत जान्छु भनेर हिँडेका खड्का कसरी बहराइच पुगे भन्ने अनुसन्धानको विषय बनेको छ । त्यसैले यस विषयमा सुक्ष्म रुपमा हामीले अनुसन्धान अगाडि बढाएका छौं’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २ गते बिहीबार