कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा कोहलपुर नगर विकास समितिद्धारा निर्माण कार्य भईरहेको सडक स्तरोन्नतीको काम रोकिएको छ । कोहलपुरमा रहेका ११ वटा पार्क क्षेत्रमा गुणस्तर र मापदण्ड विपरित सडक निर्माण भईरहेको भन्दै स्थानीयले विरोध गरेपछि सडक निर्माण कार्य रोकिएको हो । ११ मध्ये ६ वटा पार्क क्षेत्रका १२ वटा बाटोमा स्तरोन्नती÷विस्तार कार्य कोहलपुर नगर विकास समितिले रोेकेको छ । विवादका कारण १२ सय मिटर सडक निर्माण कार्य नै रोक्नु परेको कोहलपुर नगर विकास समितिका ईन्जिनियर धमेन्द्र कुमार यादवले जानकारी दिए । उनले म्याक्स होटल रहेको क्षेत्रमा ६ मिटरका २ वटा बाटो, बनवाटिका÷जेष्ठनागरिक पार्क क्षेत्रका २ वटा बाटोको काम रोकिएको बताए ।
यस्तै पुरानो मिसन रेडियो रहेको क्षेत्रका २ वटा बाटोको काम रोकिएको उनले जानकारी दिए । यस्तै सरस्वती पार्क क्षेत्रका २ वटा, बसपार्क क्षेत्र र प्रतिबोध एफ.एम. रहेको क्षेत्रको बाटोको पनि काम रोकिएको छ । सडक निर्माणमा गुणस्तरीय नभएको भन्दै स्थानीयले सडक विस्तारमा अवरोध गरेको विषयमा मिसन टुडे दैनिकले ‘सडक विस्तारमा अवरोध’ शिर्षकमा पुस १८ गते समाचार प्रकाशन गरेको थियो । चालु आर्थिक वर्षमा कोहलपुर नगर विकास समितिद्धारा १६, ९ र ६ मिटर बाटो स्तरोन्नती गर्ने काम गरिरहेको छ । स्थानीयले स्टिमेट अनुसार नै सडक बन्नुपर्ने माग गरेका छन् ।
तर निर्माण व्यवसायीले ६ मिटरको बाटोमा ब्लक र फुटपात गरी चार मिटर बाटो बनाईरहेको छ । अन्य सडकमा भने स्तरोन्नती कार्य तीव्र रुपमा भईरहेको नगर विकास समितिका ईन्जिनियर यादवले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक देखी नै सडक विस्तार तथा स्तरोन्नती कार्य भईरहेको छ । ईन्जिनियर यादवले पहिलो चौमासिक कालोपत्रे ‐साल्ट कन्क्रिट) मेसिनबाट २ हजार चार १५ वर्ग मिटर सडक विस्तार भएको बताए । बसपार्क र नगर विकास समिति क्षेत्रमा प्रथम, दोस्रो र तेस्रो चरणमा उक्त कार्य भएको उनले जानकारी दिए । यस्तै कालोपत्रे ‐प्रिमिक्स कार्पेट) ८ सय वर्गमिटर सडक विस्तार गरिएको छ भने ३ मिटरका सडकमा १८ मिटर विस्तार र ढलान समेत गरिएको छ ।
ईन्जिनियर यादवले पहिलो चरणमा नालीहरुको १५ सय मिटर आरसिसी गरिएको बताए । यस्तै दोस्रो चौमासिकमा १८ हजार वर्ग मिटर कालोपत्रे हुने नगर विकास समितिले जनाएको छ । उक्त अवधिमा ९ र ६ मिटर सडकमा कालोपत्रे गरिने योजना रहेको छ । ‘अहिले तापक्रम कमजोर भएका कारण पिच हुन सकेको छैन’ ईन्जिनियर यादवले भने, ‘अब माघ महिना लागे सँगै पिच सुरु हुन्छ ।’ चिसो समयमा पिच गर्दा गुणस्तरीय काम नहुने भएकोले यो अवधिमा अन्य कार्य मात्रै भईरहेको उनले बताए ।
अनुगमनको क्रममा केही ठाउँमा गुणस्तरीय काम भएको नपाईले पुनः निर्माण गर्नको लागि कुराकानी भईरहेको समेत उनले जानकारी दिए । राम्रो काम नभएको स्थानमा स्थानीयसँगको परामर्शमा आवश्यकतामा आधारित भएर निर्माण कार्य गर्न सकिने ईन्जिनियर यादवले बताए । स्थानीयको अवरोधका कारण भने चालु आर्थिक वर्षमा लक्ष्य अनुसार सडक विस्तार नहुने देखिएको छ । अहिले निर्माण जिम्मा लिएका निर्माण व्यवसायीहरुको अन्तिम म्याद जेष्ठ मसान्तसम्म मात्रै भएकोले निर्माण गरिसक्नुपर्ने चूनौती पनि थपिएको नगर विकास समितीले जनाएको छ । ‘स्थानीयले मानेनन् भने फेरी नयाँ प्रक्रिया सुरु गर्नुपर्छ, केन्द्रदेखी स्थानीय स्तरसम्म प्रक्रिया पु¥याउनको लागि समय लाग्छ’ ईन्जिनियर यादवले भने, ‘त्यसैले लक्ष्य अनुसार काम हुने देखिएन ।’
उता स्थानीयले भने नगर विकास समितिले आफूहरुसँग सहकार्य गरेर वार्ताका माध्यमबाट समस्या समाधानका लागि पहल गर्नुपर्ने बताएका छन् । यस विषयमा निर्माण कार्य ठेक्का लिएका रामजी यादव पनि निर्माण कार्य आधा बनाईसकेपछि विवाद भएका कारण काम गर्न समस्या भईरहेको बताउँछन् । उनी भन्छन्, ‘अन्य सडकको बारेमा समस्या छैन, तर ६ मिटर बाटोमा समस्या उत्पन्न भएको छ ।’ आफु सँगको सम्झौतामा १÷१ मिटर फुटपात र ब्लक सहित ४ मिटर बाटो निर्माण गर्ने सम्झौता अनुसार काम गरिरहेको उनले बताए । ‘छोटो समयमा काम सकिन्थ्यो, अवरोधका कारण अहिले रोकिएको छ’ निर्माण व्यवसायी यादवले भने, ‘हामी त काम गरिदिने हो, नगर विकास र स्थानीय मिलेर छिटो समस्या समाधान गर्नुपर्छ, नत्र समस्या उहाँहरुलाई हुने हो ।’
अन्य सडक जस्तै ६ मिटरका सडकमा पनि आधारभूत काम सकिएकोले सबै क्षेत्रमा पिच गर्न मात्रै बाँकी रहेको यादवले जानकारी दिए । स्थानीय सुवास चन्द बिष्टले आफूले ६ मिटर बाटो बनाउनुपर्ने माग गरेको बताए । विकास सबैका लागि उपयुक्त हुनुपर्नेमा जोड दिदै उनले केही व्यक्तिको स्वार्थमा नभई मापदण्ड र नियम संगत ढंगले काम हुनुपर्ने दाबी गरे । स्थानीय बिष्टका अनुसार अन्य स्थानमा समेत गुणस्तरीय काम नहुने भएकोले गुणस्तरीय रुपमा काम हुनुपर्छ ।








प्रतिक्रिया दिनुहोस्