23 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल, निकुञ्जको महत्व चिनाउनुपर्नेमा सरोकारवालाको जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस ८, २०७६  

कोहलपुर ।

बाघ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके निकुञ्जमा पर्यटकहरुको संख्या बढ्न नसकेपछि सरोकारवालाहरुसँग छलफल गरिएको छ । बाँकेको कोहलपुरमा सोमबार निकुञ्जमा कसरी आन्तरीक तथा बाह्य पर्यटकहरु बढाउन सकिन्छ भन्ने बिषयमा सरोकारवालाहरुसँग छलफल गरिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० मा कसरी बाँकेको प्रमुख पर्यटकिय स्थल बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरु बढाउन सकिन्छ भन्ने बारेमा सरोकारवालाहरु छलफल गरिएको हो । कार्यक्रममा बोल्ने सहभागिहरुले सबैसँग समन्वय र सहकार्य गरेर योजना बनाउन सके आन्तरीक र बाह्य पर्यटकहरु बढाउन सकिने बताएका थिए । बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना) ले पर्यटकहरुलाई आकर्षण गर्ने योजनाहरु ल्याउनुपर्ने बताइन् ।

‘निकुञ्जमा के कस्तो स्थानमा के–के बनाउँदा पर्यटकहरु आउँछन् भन्ने योजना बनाउनुपर्छ’ उनले भनिन्, ‘पर्यटकहरु भित्र्याउनका लागि होटल व्यवसायी, राजनितिक दल, पर्यटन व्यवसायी, सबै तहका सरकारहरुसँग एकिबद्धता हुन जरुरी छ ।’ बाघ संरक्षणका लागि स्थापना भएको निकुञ्जको प्रचार प्रसार राम्रोसँग हुन नसकेको भन्दै सांसद नमुनाले सबैभन्दा पहिले निकुञ्जको अवलोकन किन गर्ने भनेर प्रचार प्रसार गर्नुपर्ने बताइन् । ‘निकुञ्जको बारेमा देश विदेशमा प्रचारप्रसारमा समेत कमि रहेको देखिन्छ । सबै निकायहरुले आफ्नो आफ्नो ठाउँबाट प्रचार गरौं’ उनले भनिन्, ‘बाँके राष्ट्रिय निकुञ्जले मात्र प्रयास गरेर पर्यटक भित्र्याउन सफल हुन सक्दैन ।’

छलफलमा भाग लिदै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जको प्रयासले मात्र पर्यटकहरु भित्र्याउन सफल हुन नसक्ने बताएका थिए । ‘निकुञ्जमा आ.व. २०७५÷०७६ मा ४६ जना बाह्य पर्यटकहरु आएका छन्’ उनले भने ‘आ.व. २०७३/०७४ मा निकुञ्जमा बाह्य पर्यटक भित्र्याउन सकेका थिएनौं ।’ आ.व. २०७४/०७५ मा भने बाह्य पर्यटक २ जना मात्र आएका थिए ।

‘भम्रण वर्ष २०२० सफल बनाउन निकुञ्जमा जङ्गल वाक (पैदल), जिप सफारी, ¥याप्टीङ र हात्ति सफारीको सुविधा छ’ प्रमुख भट्टराईले भने, ‘अब चरा अवलोकन, क्याम्पनिङ र हाइकिङ जस्ता क्रियाकलाप समेत सुचारु गर्ने तयारी गरेका छौं ।’ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिम कडेलले पर्यटकहरुलाई आकर्षण गर्नको लागि प्याकेजमा कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

‘मानसरोवर जान चाहाने भारतीय पर्यटकहरुलाई बाँके निकुञ्जमा फ्रि घुमाउने व्यवस्था गर्नुपर्छ’ उनले भने, ‘यसका लागि हामी होटल व्यवसायीहरु तयार छौं ।’ यसो गर्न सकेमा भारतमा समेत बाँके निकुञ्जको बारेमा निशुल्क रुपमा प्रचार प्रसार हुने उनले विश्वास गरे । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी अध्यक्ष सावित्रा पुनले बाँके राष्ट्रिय निकुञ्ज वरवर रहेका मानिसहरुलाई जनचेतना फैलाउनुपर्नेमा जोड दिइन् ।

‘निकुञ्ज वरीपरी ७६ वटा उपभोक्ता समूहहरु रहेका छन्’ उनले भनिन्, ‘त्यहाँका बासिन्दाहरु आन्तरिक पर्यटक र बाह्य पर्यटकहरुको बारेमा जानकार छैनन् ।’ उनीहरुलाई आफुले लगाएको धान, मकै, लगायत अन्य बस्तुहरुमा मात्र केन्द्रित भएको उनको भनाई थियो । कोहलपुर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष ओमप्रकाश वलीले खड्कवारमा पर्यटक भित्र्याउने उद्देश्यले होमस्टेहरु सञ्चालन गरेको बताए ।

‘अहिले कोहलपुर नगरपालिकाको सहयोग र वडाको सहयोगमा चप्परगौडिमा गेट निर्माण गरेका छौं’ उनले भने, ‘यसको लागत २५ लाख बराबरको रहेको छ ।’ बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषत्तोम शर्माले बाघको संख्यामा तिव्र वृद्धि भइरहेको बताए । ‘सन् २०१३ मा गणना गर्दा ४ वटा बाघहरु थिए’ उनले भने, ‘सन २०१८ मा २१ वटा बाघहरु रहेका छन् ।’

प्रकाशित मितिः मङ्लबार, पुस ८, २०७६     9:45:42 AM  |