27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बाँसगढीमा युवा नेतृत्व विकास तालिम सञ्चालन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस ५, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी ।

समाज रुपान्तरणका लागि बाँसगढीमा युवा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास, समुहगत कार्यक्षमतामा बढोत्तरी, बोलीचालीका सिपमा अभिवृद्धि गराउँदै युवाहरुमा सामुहिकता ल्याउने र समाज रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ बाँसगढी क्षेत्रका युवाहरुका लागि तालिमको आयोजना गर्न थालिएको हो । बाँसगढी नगरपालिकाको सहयोग, आर्ट अफ लिभिङ नेपालगञ्जको आयोजनामा पौष १४ गते देखि २१ गते सम्म तालिम हुन लागेको आर्ट अफ लिभिङ बाँसगढीका जित बहादुर रोकायले बताए ।

उनका अनुसार तालिम व्यवस्थापनका लागि शुक्रबार आर्ट अफ लिभिङ नेपालगञ्ज र बाँसगढीका युवाहरु बीच छलफल समेत गरिएको छ । छलफलको क्रममा तालिम व्यवस्थापनको लागि सचिवालय टिमसँगै अन्य कार्यबिभाजन समेत गरिएको छ । छलफलमा सहभागी बाँसगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजाल, समाजसेबी विपिन पौडेल, नारायण प्रसाद शर्मा, लाल बहादुर क्षेत्री लगायतले तालिम व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बाँसगढी क्षेत्रमा हुने तालिमले युवाहरुलाई थप उर्जाशिल बनाउन प्रेरित गर्ने समेत विश्वास लिएका छन् । तालिम उपयोगी र व्यवस्थित बनाउन बाँसगढी क्षेत्रका युवाहरु पनि सक्रिय रुपमा लागेका छन् ।

युवाहरुको नेतृत्व विकासका लागि हुने तालिमहरुले युवाहरुमा सकारात्मक सोचको विकास गराउने भएकाले तालिमको तयारीका लागि सक्रिय रुपमा लागिएको अगुवा युवा केशव टमाटाले बताए । युवा नेतृत्व विकास तालिमले उर्जावान युवाहरुलाई नेतृत्व लिन सक्ने क्षमताको विकास सँगै सकारात्मक सोचको बोध गराउन महत्वपुर्ण भुमिका खेल्न आर्ट अफ लिभिङ नेपालगञ्जका प्रशिक्षक काव्य लम्सालले बताए । उनका अनुसार तालिममा सफल जिवनका रहस्यहरु, मनको केन्द्रीकरण, आहार व्यवस्थापन, सकारात्मक सोचको विकास, सिर्जनशिलता लगायत विषयमा प्रणायाम र योगाको अभ्यास सहित प्रशिक्षण दिईने र तालिमलाई प्रयोगात्मक समेत बनाईने छ । तालिममा बाँसगढी क्षेत्रका युवाहरुलाई बढी भन्दा बढी सहभागी बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः शनिबार, पुस ५, २०७६     11:31:31 AM  |