27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

नागरिकबाट सल्लाह सुझाव लिदै नेपाली सेना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६  

कोहलपुर ।

बाँकेमा ‘नागरिक सैनिक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेपालगञ्जको राँझामा रहेको भैरवप्रसाद गण इमामनगर ब्यारेकमा उक्त अन्तरक्रिया गरिएको थियो । नेपाली सेनाले जनसम्पर्क बढाउने तथा कमी कमजोरी र सुझाव संकलनको लागि ‘नागरिक सैनिक अन्तरक्रिया’ गरेको हो । नेपाली सेनाले जनतासँग सुमधुर सम्बन्ध कायम गर्नको लागि यो कार्यक्रम देशका १८ जिल्ला सञ्चालन गर्नेछ । सेनाको उत्तर–पश्चिम पृतनापति सरोजप्रताप राणाले जनतासँग सम्बन्ध विस्तारको साथै सेनाको बारेमा सल्लाह सुझाव लिनको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

‘आम नागरीकहरुसँग सम्बन्ध विस्तार गर्ने र सल्लाह सुझाव लिने मुख्य उद्देश्य हो’ उनले भने, ‘नागरिकबाट आएका सुझाव र गुनासाहरुलाई गम्भिरतापुर्वक लिएका छौं ।’ अन्तरक्रिया बोल्दै सेनाको श्रव्यदृष्य महाशाखाका महासेनानी ईश्वरकुमार श्रेष्ठले जनतासँग नेपाली सेना टाढा भएको हो की भन्ने महशुसलाई हटाउनको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

‘अहिले बाहिर हेर्दा जसरी सेना र जनता बिचको सम्बन्ध कमजोर छ जस्तो देखिन्छ’ उनले भने, ‘त्यसलाई चिर्दै जनताका गुनासा सुन्दै र सुझाव संकलन गरिरहेका छौं ।’ यस्ता कार्यक्रमबाट सुझावहरुलाई कार्यान्वयनमा लैजाने महाशाखाका महासेनानी श्रेष्ठले प्रतिबद्धता जनाए ।

अन्तरक्रियामा बाँकेका पत्रकारहरु, व्यवसायी, सरकारी कर्मचारी चिकित्सक, सामाजिक अगुवा लगायतको उपस्थिती रहेको थियो । उनीहरुसँग नेपाली सेनाले गुनासा, सल्लाह तथा सुझाव संकलन गरेको हो ।

‘नागरिक सैनिक अन्तरक्रिया’ मा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनिपती सहायक रथी सुरेश कुमार बानियाँ, प्राबिधिक प्रमुख सेनानी प्रद्युम्न पौडेल, भैरव प्रसाद गणका गणपती नकुल थापा लगायतले सहभागिहरुले गरेका प्रश्नको जवाफ दिएका थिए । ‘नागरिक सैनिक अन्तरक्रिया’ आज बर्दियाको गुलरियामा गरिने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६     10:26:03 AM  |