राप्तीसोनारीका कुखुरा व्यवसायी संगठित



कोहलपुर ।

बाँके राप्तीसोनारी गाउँपालिकाका कुखुरा व्यवसायीहरु संगठित भएका छन् । कुखुरा पालनका माध्यमबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले गाउँपालिकामा रहेका व्यवसायीहरु संगठित भएका हुन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, ८ र ९ का कुखुरा व्यवसाय सञ्चालकहरुको बैठकले नयाँ समिति समेत चयन गरेको हो । व्यवसायी दशरथ ओलीको अध्यक्षमा ७ सदस्सीय गाउँपालिका स्तरीय समिति बनाईएको छ ।

भेलाले समितिको उपाध्यक्षमा सलिना डि.सी., सचिवमा हर्षबद्धन थारु र कोषाध्यक्षमा झम्पा गौतमलाई चयन गरेको थियो । त्यसैगरी सदस्यहरुमा पल बहादुर खत्री, शोभाराम ओली र प्रेमलाल खत्री रहेको कोषाध्यक्ष गौतमले जानकारी दिइन् । बैठकले ३ सदस्सीय सल्लाहकार समिति चयन गरेको छ । जसमा छविलाल ओली, धर्म भण्डारी र झक्कु प्रसाद डाँगी रहेका छन् । भेलाले लेखा समितिमा शिव प्रसाद देवकोटा, शेर बहादुर खड्का र केशलाल खत्रीलाई चयन गरेको छ ।

समितिको बैठकले ६ बुँदे निर्णय समेत गरेको अध्यक्ष ओलीले जानकारी दिए । राप्तिसोनारीमा उत्पादित कुखुरालाई स्थानीय बजारमा खपत गर्नको लागि कोहलपुर, दाङ र प्युठान क्षेत्रबाट आउने कुखुरालाई प्रतिबन्धित गर्न तथा त्यस्ता व्यवसायी, सप्लायर्ससँग सहमती र सहकार्यका माध्यमबाट अनुरोध गर्ने निर्णय बैठकले गरेको थियो । राप्तीसोनारी क्षेत्रका कुखुरा व्यवसायीहरुले कुखुरा फर्म दर्ता गर्नका लागि आवश्यक पहल थाल्ने निर्णय समेत गरिएको अध्यक्ष ओलीले बताए ।

त्यसैगरी कुखुरा व्यवसायीहरुलाई आवश्यक ज्ञान, सिप र व्यवसायिक क्रियाकलाप सञ्चालनका लागि स्थानीय सरकारसँग समन्वय गरी कुखुरा पालन सम्बन्धि तालिम कार्यक्रमको माग गर्ने, व्यावसायिक समितिको नाम ‘राप्तीसोनारी कुखुरा पालन उपसमिति बाँके’ राख्ने निर्णय गरिएको कोषाध्यक्ष गौतमले बताइन् । समितिको खाता सञ्चालनको लागि दुई जनाको नाममा खाता सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २५ गते बुधबार