कोहलपुरमा शंकास्पद विस्फोट, घरधनी गम्भिर घाइते, अनुसन्धान जारी



कोहलपुर ।

बाँकेको कोहलपुरमा मंगलबार दिउँसो शंकास्पद विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोड गोलपार्क नजिकैको एक घरमा शंकास्पद विस्फोट भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीका अनुसार चुडामणि शर्माको घरमा विस्फोट भएको थियो ।

विस्फोटबाट शर्मा गम्भिर घाइते भएको उनले जानकारी दिए । दिउँसो करिब ३ बजेको समयमा घरको पहिलो तल्लामा ठूलो आवाजसहित विस्फोट भएको थियो । विस्फोटमा परी गम्भिर घाइते भएका घरधनी शर्मालाई तत्कालै स्थानीयहरुले उद्दार गरेर नजिकै रहेको कोहलपुर मेडिकल कलेज उपचारका लागि पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो ।

अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको हात, टाउँको लगायतका ४० प्रतिशत भन्दा बढी भागमा आगोले जलेको छ । के विस्फोट भएको हो भन्ने केही नखुलेपनी कोहलपुर प्रहरीले भने सिलिण्डरबाट लिक भएको ग्यास घरमा भरिदा ग्यास विस्फोट भएको बताएको छ । ‘किचेनमा राखेको सिलिण्डरबाट ग्यास लिक भएर विस्फोट भएको देखिन्छ’ कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘मंगलबार ठूलो दुर्घटना टरेको छ ।’

‘सिलिण्डरबाट ग्यास लिक हुँदा कोठामा भरिएर विस्फोट भएको देखिन्छ’ उनले भने, ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले ग्यासकै कारणले विस्फोट भएको देखिन्छ । अन्य कुनै विस्फोटन पदार्थ विस्फोटन भएको देखिदैन ।’ प्रहरीले ग्यास विस्फोट भएको दाबी गरेपनी घटनास्थलको प्रकृती हेर्दा भने फरक देखिन्छ । विस्फोटको जानकारी लगत्तै मिसन टुडेको टिम पुग्दा त्यहाँ ग्यास सिलिण्डर र चुलोमा कुनै क्षती पुगेको थिए । सिलिण्डरदेखि चुलोसम्म ग्यास प्रवाह गर्ने तार मात्र केही जलेको थियो ।

यतीसम्मकी त्यती ठूलो आवाजसहित विस्फोट हुँदा ग्यास सिलिण्डर, चुलो लगायत त्यस आसपासका क्षेत्रमा राखेका कुनै पनी बस्तुहरुमा सामान्य क्षती समेत भएको थिएन । विस्फोटनबाट घरमा ठूलो क्षती भएपनी विस्फोटको मुख्य कारण मानिएको सिलिण्डरमा भने कुनै क्षती छैन ।

विस्फोटनबाट घरका झ्याल ढोकामा ठूलो क्षती पुगेको प्रहरीले जनाएको छ । कतीपयले भने यस घटनालाई शंकास्पद भन्दै गहन रुपमा छानविन गरिनुपर्ने बताएका छन् । कोहलपुर प्रहरीले घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २७ गते बुधबार