15 July 2024  |   सोमवार, असार ३२, २०८१

श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६  

बाँसगढी ।

बर्दिया बाँसगढीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । बाँसगढी नगपालिका ६ की अन्दाजी ५२ वर्षीय समला दरै हत्याको आरोपमा उनकी श्रीमती ५० वर्षीया दिलमाया दरै पक्राउ परेकी हुन् ।

श्रीमान्को हत्या गरेर फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका ७ गुनानाबाट बर्दिया प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा राखिएको छ ।

उनी माथि कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार लामो समयदेखि भारतामा मजदुरी गर्दै आएका समला बिहीबार मात्र घर फर्किएका थिए ।

शनिबार बिहान आठ बजेसम्म दरैको घरमा सुनसान देखिएपछि हेर्न पुगेका छिमेकीले घरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेपछि मात्र श्रीमान्को हत्या गरी श्रीमती फरार रहेको खुलेको बताइन्छ । श्रीमतीले किन श्रीमान् हत्या गरिन् भन्ने थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६     5:27:27 PM  |