दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रमा सडक बत्ती जडानको कार्यलाई तीव्र पारेको छ । बिहीबारसम्म बजारका करीब ५० स्थानमा सडकबत्ती जडान गरेको छ । अझै पनी कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका खरीद शाखाका प्रमुख टोपबहादुर डाँगीले बताए । उनका अनुसार उपमहानगरपालिकाले उत्तरमा रक्षाचौर, दक्षिणमा शीतलपुर, पूर्वमा मज्गै र पश्चिममा भमकेसम्म सडक बत्ती जडानलाई अगाडि बढाएको हो ।
उज्यालो तुलसीपुर अभियानअन्तर्गत बजार क्षेत्रभित्र तिहार अगाडि नै सबै पोलमा बत्ती जडान गरिसक्ने नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडि बजार क्षेत्रमा विभिन्न आठ वटा टोलका ७८ वटा स्थानमा जडान गरिएका सोलार बत्ती पनि बिग्रिएका छन् अब छिट्टै मर्मत गरिनेछ । बजार क्षेत्रमा लामो समयदेखि सोलार बत्ती बिग्रिएका कारण बजार क्षेत्र अन्धकार रहेको थियो ।
बजार क्षेत्रका सोलार बत्तीको ग्यारेन्टी हुँदा पनि ठेकेदारले आनाकानी गरेका कारण मर्मत हुन सकेको थिएन । “तत्काल काम अगाडि नबढाए कारवाही प्रक्रिया अगाडि बढाउने भनेपछि ठेकेदारले मर्मत गर्ने प्रतिबद्धता जनाएको छ”, नगरप्रमुख घनश्याम पाण्डेले भने । एभरेष्ट सोलार इनर्जी प्रालीले ती बत्ती जडानको ठेक्का पाएका भए पनि कमसल सामग्रीको प्रयोग भएका कारणले गर्दा एक वर्ष नपुग्दै बिग्रिएका थिए । तुलसीपुरलाई सुरक्षित राख्नका लागि बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न पनि उपमहानगरपालिकाले टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्