बुटवल ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् । मानव सेवा आश्रमले आइतबार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने र क्रमशः प्रदेशका सबै मठ मन्दिरमा यो नियम लागू गरिने बताए । ‘माग्ने काम अहिले पेशा जस्तै बन्दै गएको छ,’ बरालले भने, ‘यसको अन्त्यको लागि प्रदेश सरकारले नीति बनाएरै भिक्षा माग्न निषेध गर्छ ।’ काम गर्न नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याइने तर अब मागेर खान नपाइने उनले बताए । मन्त्री बरालले काम गर्न सक्नेलाई सरकारले काम दिने दाबी गरे । माग्न बाध्य भएका मानिसको सरकारले जिम्मेवारी लिने मन्त्री बरालले बताए ।
‘मागेर खानु पर्ने बाध्यताको सरकारले अन्त्य गरेर छाड्छ’– मन्त्री बरालको दावी छ । यसैबिच बर्षाैदेखि सडकमा जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवले यसपाली टीका लगाएपछि निकै खुसी भएका छन् । आफ्ना आमा बुवा, परिवारजन, आफन्तजनबाट टाढा रहेका वा गुमाएका मानिसहरुले दशैंको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका दिन सामुहिक टीका ग्रहण गरेका हुन् । बुटवलको मिलनचोकमा रहेको मानवसेवा आश्रममा आश्रित ७० जनाले प्रदेशकासामाजिक विकासमन्त्री बरालको हातबाट दशैंको टीका लगाएका थिए । उनीहरुलाई टीका,जमरा र मिठाइ प्रदान गरिएको थियो । मन्त्री बरालले आफुले टीका नलगाउने र अरुलाई पनि नलगाइदिने भए पनि यसवर्ष आश्रममा रहेकाहरुलाई टीका लगाइदिन आएको बताए । सडकको जीवनबाट मानवीय जीवनमा प्रबेश गराइएका उनीहरुलाई सामूहिक टीका लगाइदिने ब्यबस्था मानवसेवा आश्रम रुपन्देहीले गरेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।